एनपीएलः पोखरा एभेन्जर्सलाई हराउदै सुदूरपश्चिमको दोस्रो जित

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनमा समेटिएको हो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे ।पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुईरदुई विकेट लिए।

जवाफी ब्याटिङ गरेको पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए । ३२ बल खेल्दै चार चौका र छक्काको मद्दतमा ५३ रन बनाए । जिमी निशमले २५ बलमा पाँच छक्का र दुई चौकासहित ४७ रन बनाउँदा डान डाउथवेटले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बल खेलेर पाँच छक्का र एक चौकासहित ३७ रन बनाए ।

पोखरालाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि हरमित सिंहले दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । यो जितसँगै सुदूरपश्चिम चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेलमा पराजित भएको हो । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । एनपिएलमा शनिबार दुई खेल हुँदैछन् ।