डडेल्धुरा । शारदा सुदर्शन फाउण्डेसन काठमाडौँले बिहीबार डडेल्धुरास्थित संस्कृत बिषय पढाई हुने उग्रतारा वेद विद्याश्रममा कपडा दान गरेको छ। फाउण्डेसनका अध्यक्ष डा. सुधा देबकोटाले आफ्ना दिवंगत बुवा स्व. सुदर्शन देबकोटाको जन्मदिनको अवसरमा वेद विद्याश्रममा अध्ययनरत बटुक तथा गुरुहरूलाई कपडा वितरण गरेकी हुन् ।
फाउण्डेसनले विद्याश्रममा रहेका ३४ जना बटुक र सात जना गुरु गरी ४१ जनालाई ट्र्याकसुट प्रदान गरेको हो । स्व. बुवाको स्मृतिमा जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै वेद विद्याश्रमका बटुक र गुरुहरूलाई कपडा दान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको अध्यक्ष डा. देबकोटाले बताइन् । डा. सुधा देबकोटा हाल डडेल्धुरा अस्पतालमा मेडिकलसुपरीटेनडेण्टका रुपमा कार्यरत छन ।

फाउण्डेसनका कार्यकारी निर्देशक तेजकुमार बास्तोलाले सानो सहयोगले पनि विद्याश्रमलाई केही राहत पुग्ने विश्वासकासाथ कपडा दान गरेको बताए । विभिन्न सामाजिक कार्यहरू गर्दै आएको शारदा सुदर्शन फाउण्डेसनले यस वर्ष वेद विद्याश्रमका बटुक र गुरुहरूलाई लुगा दान गरेकोप्रति विद्याश्रमका गुरुहरूले फाउण्डेसनप्रति धन्यवाद व्यक्त गरेका छन्।











