डडेल्धुराका सन्तोष खत्री जेसीज २०२५ को उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

Image

डडेल्धुरा । राष्ट्रिय खेल भलिबल खेलाडी सन्तोष खत्री नेपाल जेसीस २०२५ को उत्कृष्ट युवा पुरस्कारले सम्मानित भएका छन । डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ बडबसन्तपुर गाउँका सन्तोषले नेपालको राष्ट्रिय भलिबल टिमबाट सन २०२२ मा बंगलादेशमा भएको अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा स्पाईकरको रुपमा सहभागिता जनाएका थिए ।

डडेल्धुराको दुर्गम क्षेत्रमा जन्मिएका खत्री सानो उमेरमा नै राष्ट्रिय भलिबल टिममा पर्न सफल भई नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न सफल भएको भन्दै उनलाई उत्कृष्ट युवा पुरस्कारले सम्मान गरिएको हो ।

नेपाल जेसीज डडेल्धुरा शाखा वर्ष २०२५ बाट सिफारिस खत्रीलाई नेपाल जेसीज २०२५ ले उत्कृष्ट १० जनालाई प्रदान गर्ने युवा पुरस्कारबाट सम्मान गरेको हो । शुक्रबार मधेश प्रदेशको धनुसा जिल्ला स्थित जानकी मन्दिर नजिक आयोजना गरिएको ५२औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा विभिन्न बिधामा काम गर्ने १० जना युवाहरु लाई जेसीजले उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको छ ।

उत्कृष्ट १० जना युवालाई नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्ष रजनी थापाले सम्मान पत्रसहित खादा, मेडल लगाई सम्मान गरेकी थिईन । युवालाई प्रोतसाहान गर्ने उद्देश्यले देशभरका १७४ शाखाहरु मध्ये सिफारिस भएका १० जना युवालाई जेसीजले उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको उनले बताईन ।

निर्वाचन मार्फत नयाँ नेतृत्व चयनका लागि जेसीजको महाधिवेशन जनकपुरधाम स्थित तिरहुतीया गाछीमा शुरु भएको छ । महाधिवेशनमा देशभरका १७४ शाखाका करिब पाँच हजार युवाहरूको सहभागिता रहेको छ ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय उपस्थितिसहितमा शुरू भएको जेसीज महाधिवेशनलाई ‘युवाहरूको महाकुम्भ’का रूपमा लिइएको छ ।

महाधिवेशनमा नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका विषयमा बहस, संवाद र अनुभव आदान प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत नेपालका सफल युवा उद्यमीहरू, वन डढेलोसम्बन्धी विज्ञ तथा विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन् ।

यसले युवालाई व्यावसायिक क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र समाजप्रति उत्तरदायी नेतृत्व विकास तर्फ प्रेरित गर्ने विश्वास छ । उद्घाटन शत्रमा वक्ताहरूले युवा शक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा विकास गर्न उद्यमशीलता, सीप र नैतिक नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

जेसीज महाधिवेशनले स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्रमासमेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।