डडेल्धुरा । चुरे क्षेत्रको आलितालमा अटो र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिव ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा विपरीत दिशाबाट आइरहेका म १ च ४४१ नम्बरको जिप र बुडरबाट जोगबुडा जाँदै गरेको भी.न.पा. ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएकी अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगरलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक (डिएपपी) बरुण बहादुर सिंहले जानकारी दिए ।
दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेका छन भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । दुर्घटना बारे अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।











