डडेल्धुराका ९६ प्रतिशत घरधुरी बिद्युतको पहुचमा

Image

डडेल्धुरा । दुई वर्ष अघि २०८० सालसम्म ८५ प्रतिशत घरधुरी मात्रै बिद्युतको केन्द्रिय प्रशारण लाईन ३२ केभीको पहुँच पुगेको डडेल्धुरामा यस वर्षको हालसम्म आईपुग्दा ९६ प्रतिशत घरधुरी बिद्युतको पहुँचमा पुगेका छन । यससंगै डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लापछि बिद्युतको पहुँच पुग्ने पहिलो पहाडी जिल्ला बनेको छ । कैलाली र कञ्चनपुरमा भने शतप्रतिशत घरधुरीमा बिद्युतको पहुँच छ ।

जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीले बताए । उनका अनुसार बाँकी एक हजार २१ घरधुरीमा विद्युतीकरण गर्ने काम जारी छ । प्राधिकरणको दुई वर्ष अघिको तथ्यांक हेर्दा २३ हजार घरधुरीमा मात्रै विद्युतको पहुच पुगेको थियो । शतप्रतिसत घरधुरीमा विद्युतिकरणका लागि ४५ करोड बराबर रकमको टेण्डर भए पछि हाल आएर ९६ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको हो ।

यस अघि आर्थिक वर्ष २०७९/८० मा बिद्युती करणका लागि करिब ६० लाख बराबरका आठ वटा टेण्डर भई आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका थिए । विद्युतको पहुँचसंगै स्थानीको दैनिकी सहज भएको उनँको भनाई छ । बाँकी रहेका गाउँवस्तिहरुमा लाईन विस्तारको काम भईरहेको उनले बताए ।

कार्यालय प्रमुख कपिल जोशीका अनुसार हाल ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरधुरीमा विद्युतको पहुँच पुगेको छ । अब बाँकी रहेका १ हजार २१ घरधुरीमा विद्युतीकरण विस्तार गर्ने काम भईरहेको छ ।

सात वटा स्थानीय तहहरु रहेको डडेल्धुराका विकट गाउँवस्तिहरुमा मात्रै विद्युतीकरण हुन बाँकी छ । स्थानीय तह अनुसार तथ्यांक हेर्दा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा ६० घरधुरी बिद्युतको पहुँचभन्दा बाहिर रहेका छन । अमरगढीको चिरकिट्टे, पाण्डेबस्ती, भरडालगायतका केही घरधुरीमा बिजुली पुगेको छैन ।

यस्तै जिल्लाको दोस्रो नगरपालिका परशुराम नगरपालिकाका ३०८ घरधुरी विद्युतको पहुँचभन्दा बाहिर छन् । यहाँका बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीका सबै घरमा विद्युत पुगेको छैन ।

आलिताल गाउँपालिकामाका १८० घरधुरीम विद्युतिकरण हुन सकेको छैन । यहाँको काफलीक्षेत्र, तिमुली, तल्लो गयानी, पर्सासैन, बास्कोटा, सेल्टा, मल्लो गोदाम, हमतड र डोला लगायतका गाउँका धेरै घरधुरीमा बिजुली पुगेको छैन ।

भागेश्वर गाउँपालिकाका १४८ घरधुरीमा विद्युतिकरण हुन सकेको छैन । बलडा, काँडे, पत्रम, बलकाँडे, चुँडी, लेकुडा, राडिल, चौड, सतिगाउँ, ओडाखान, रूपालीगाड लगायतका क्षेत्रमा बिजुली पुग्न बाँकी छ ।

यसैगरी नवदुगा गाउँपालिकाका ८५ घरपरिवार बिजुली पुगेको छैन । यहाँको पलेत्थर, बेडुपानी, पनालखेत, मम्मे, सिरोड र दुलिनागाउँका केही घरधुरीमा बिजुली पुग्न बाँकी छ । यस्तै अजयमेरु गाउँपालिकाका खतेडा, कालीपोखरी, धारी, भुल्कुडा र गालबस्तीमा रहेका एक सय घरपरिवारमा बिजुली पुगेको छैन । गन्यपधुरा गाउँपालिकाका उगनाड, जिम्रोडा, कापडीगाउँ, मेड्डी, जैसेरा, कोराल, मोई र रेलका बस्तीका गरि १३१ घरपरिवार विद्युत पुग्न बाँकी छ ।

पहाडका कुनाकान्थरामा एक एक घर भएकाले सबै घरघुरीमा विद्युतिकरण गर्न केही असहज भएको कार्यालय प्रमुख जोशीको भनाई छ । विद्युतिकरणको ठेक्का पाएका ठेकेदारको लापवार्हीका कारण पनि काममा ढिलाई हुने गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाहरु बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरु मध्ये सबै भन्दा बढी डडेल्धुरामा ९६ प्रतिशत विद्युतीकरण भएको छ । डोटीमा ८८.०४, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।