डडेल्धुरा । मुख्य निर्वाचनको कार्यालय डडेल्धुराले सर्वपक्षिय बैठकको आयोजना गरि राजनितिक दलका प्रतिनिधिहरुलाई आचार संहिता बारे जानकारी गराएको छ । साथै उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा भिडभाड हुने भन्दै मनोनयन दर्ताको समय तोकिदिएको छ ।
बढीमा २५ जनाको संख्या र १० भन्दा बढी झण्डासमेत बोक्न नमिल्ने आचार संहिता लागु भईसकेकाले भिडभाड हुन नदिन राजनितिक दलका प्रतिनिधिहरुको सल्लाह बमोजिम मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत अरुण कमार कोईराले बताए ।
सबैभन्दा पछि अपरान्ह ४ः०० नेपाली कांग्रेसले मनोनयन दर्ताको समय माग गरे अनुसार त्यस भन्दा अघि दिउसो ३ः३० बजे नेकपा एमाले, ३ः०० बजे नेपाली कम्युनिष्ट पार्टी, २ः३० बजे रास्वपा, २ः०० बजे राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ । त्यस अघि राप्रपा, श्रम संस्कृतीलगायतका अन्य दलहरुले बिहान १०ः०० बजे देखि उम्मेदवार मनोनयन गर्न सक्ने छन ।
उनका अनुसार एक दललाई कम्तिमा ३० मिनेटका हिसाबले उम्मेदवारी मनोनयनका लागि समय तोकिएको छ । एकै पटक आउदा निर्वाचन अधिकृतको मुख्य कार्यालय डडेल्धुरा जिल्ला अदालतमा भिडभाड बड्ने भएकाले मनोनयन दर्ताका लागि दलहरु लाई पायक पर्ने समय अनुसार समय तोकिएको उनको भनाई छ ।
आचार संहिताको पूर्ण पालनाका लागि मुख्य निर्वाचन अधिकृत एवं डडेल्धुरा अदालतका न्यायधिस कोईरालाले आग्रह गरे । नीजी वा सार्वजनिक स्थानमा पोष्टर टांस्न नमिल्ने, भित्ते लेखन गर्न नमिल्ने, प्रतिनिधि सभा सदस्यका उम्मेदवारले बढीमा ३१ लाख रकम मात्रै खर्च गर्न सक्ने गरि आचार संहिता आईतबार राती १२ः०० बजे देखि लागु भईसकेकाले आचार संहिताको पालनाका लागी उहाँले राजनितिक दलका प्रतिनिधिहरु लाई आग्रह गरेका छन ।
आचार संहितामा निर्वाचन आयोग कडा बन्दै गएको र तड्किलो भड्किलो धेरै रकम खर्चेर चुनाव गराउनमा रोक लगाउदै आएकाले सबैंले संयम भईदिन उनले आग्रह गरे । निर्वाचन केन्द्र र स्थलमा कर्मचारी खटाउदा कुनै लालच नराखी आफुहरुले निष्पक्ष ढंगले खटाउनुकासाथै कर्मचारी आचार संहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता सर्वपक्षिय बैठकमा मुख्य निर्वाचन अधिकृत कोईरालाले जनाए ।















