डडेल्धुरा । एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १० वटा राजनितिक दलहरु र तीन जना स्वतन्त्र गरि १३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन । २०४८ यता भएका सबै सात वटै निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका निवर्तमान सभापती एवं पूर्व प्रधनमन्त्री अन्तिम समयमा पछि हटेसंगै डडेल्धुरामा १३ जना उम्मेदवार देखिएका छन ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा, जनमोर्चासंगै नयाँ दल श्रमसंस्कृती, आम जनता पार्टी र किसान मज्दुर पार्टी, जय मातृभूमी गरि नौ वटा पार्टीका उम्मेदवारहरुले मुख्य निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गरेका छन । तीन जना उम्मेदरवार स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत अरुण कमार कोईराले जानकारी दिए ।
डडेल्धुराबाट सात पटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापती बनेका शेरबहादुर देउवा यस पटक चुनाव नलड्ने भएपछि कांग्रेस पार्टीका निवर्तमान केन्द्रिय सदस्य नैनसिंह महरलाई उम्मेदवार बनाई मनोनयन दर्ता गरेका छन । उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रिय अध्यक्षसमेत हुन । देशलाई समृद्ध बनाउन आवश्यक नीति निर्माण पहिलो कार्य हुने बताउदै महरले देउवाले गर्न नसकेका काम पुरा गर्न लागि आफ्नो उम्मेदवारी रहेको बताए । डडेल्धुराका जनताले प्रजातन्त्रलाई विश्वास गर्दै कांग्रेसका उम्मेदवारलाई जिताउदै आएकाले यस पटक पनि कांग्रेस नै जित्ने उनको भनाई थियो ।
नेकपा एमालेबाट सांसद चक्र स्नेहीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । उनी २०७४ को निर्वाचनमा एमाले पार्टीको सामानुपातिक तर्फबाट संसद रहेका थिए भने २०७९ को निर्वाचनमा पार्टीले विपि कांग्रेससंग गठबन्धन गरे पछि उम्मेदवारी फिर्ता लिएका थिए । देशमा लोकतन्त्र बचाउन, अराजकतालाई किनारा लगाउन र समृद्धि ल्याउने आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
नेपाली कम्युनिष्ट पार्टीबाट मानसिह माल क्रान्तिले उम्मेदवारी दर्ता गरेका छन । लामो समय नेकपा माओवादी पार्टीको राजनिति गर्नु भएका माल पहिलो पटक निर्वाचनमा होमिएका हुन । डडेल्धुराले पाँच पटक प्रधानमन्त्री पाएपनि जनताले चाहेको विकास हुन नसकेको भन्दै उनले जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । जनताका माग सिंहदरबार र सिंहदरबारमा हुने बेथिती जनताका माझमा ल्याई सुशासित विकास गर्ने योजना रहेको उनले बताए ।
रास्वपाबाट डा. तारा जोशीले उम्मेदवारी मनोनयन दर्ता गरेका छा । उनी केही दिन अघि मात्रै उज्यालो नेपाल पार्टीबाट प्रतिनिधित्व गर्दै रास्वपामा प्रवेश गरेका थिए । डडेल्धुरा क्षेत्र ख बाट २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार भई निर्वाचित भरएका जोशीले प्रदेश संसद पदबाट राजिनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचका लागि उम्मेदवारी दर्ता गरेका हुन । उनी यस अघि २०७० सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई देउवासंग पराजित भएका थिए ।
उनले अर्थतन्त्र सुधारका लागि नयाँ ढंगबाट सोच्नु पर्ने गरि नयाँ भावना र स्प्रिटलाई समात्न नेतृत्व चाहिएको महसुस भएकाले आफ्नो उम्मेदवारी रहेको बताए । नयाँ पुस्ताको भावना र पुराना पुस्ताको अनुभवलाई आजको आवश्यकता भएको भन्दै उनले त्यसको प्रतिनिधित्व आफुले गर्ने बताए ।
राप्रपाबाट गोबिन्द खडायतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । खडायत राप्रपाको केन्द्रिय सदस्य हुन । खासगरी राष्ट्र प्रथमको भावका साथ आफ्नो उम्मेदवारी रहेको खडायतले बताए । राष्ट्र रहे सबै नेपाली रहने भन्दै उनले वर्तमान अवस्थाबाट राष्ट्रलाई नयाँ दिशा दिदै संवैधानिक राजतन्त्र र हिन्दुसनातन धर्म जोगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
स्वतन्त्र तर्फ तिर्थराज उप्रेती, सुरेन्द्र रावल र गौरव ऐरले उम्मेदवारी मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कोराईलाले जानकारी दिए ।















