डडेल्धुरा । जिल्ला सदरमुकाम बागबजार नजिकै अमरगढी नगरपालिका ४ टुडीखेल मूनी ऐसेलु झाडी भन्ने ठाउँमा स्थानीय भुमिका बिष्टले भैंसी पालन गरि दुधबाट मनग्य आम्दानी गर्दै आईरहेकी छन । अमरगढी ४ र ५ मा जिल्ला सदरमुकामको बजार क्षेत्रसंगै बाक्लो वस्ति छ । यही बाक्लो वस्ति नजिकै केही वर्ष पहिले ऐसेलुको झाडी भएको स्थानमा अहिले दर्जन बढी घरहरु निर्माण गरि वस्ति बसेको छ । यही ठाउँमा जमिन खरिद गरि घर निर्माणसंगै बिष्टले हाल पाँच वटा भैंसी एक राँगो र दुई भैंसीका पाडा, पाडी पनि पोकी छन । एक भैंसी राँगोमा ल्याएको दुई हजार पाँच सय रुपियाँ लिने गरेको उनले बताईन ।
बिष्टको घर अमरगढी ४ कै भलिया गाउँमा भएपनि गाउँमा गुजरा चलाउन गाह्रो भएपछि उनी गाउँकै अलि माथि बजारको छेउमा जग्गा खरिद गरि घर बनाएर बसेकी हुन । घर नजिकैका स्थानीयहरुको बाँझो जमिनमा उनले भैंसी पालन गरि दुधबाट मनग्य आम्दानी गरिरहेकी छन । भूमिकाका श्रीमान नेपाल प्रहरीमा कार्यरत छन । उनी हाल डडेल्धुरा जिल्ला बाहिर छन भने उनका दुई छोराहरु जिल्ला सदरमुकामको महेन्द्र माविमा अध्ययरत छन ।
श्रीमानको कमाईले घर खर्च नै चलाउन धौ धौ परेपछि विगत ७–८ वर्ष यता उनले पाँच देखि १० वटासम्म भैंसी पालेर दुध बेच्दै आईरहेको सुनाईन । गाउँमा धेरै जमिन थिएन, उनले भनिन्, यहाँ एसेलुझाडीमा जमिन किनेर घर बनाए । त्यत्तिकै बसेर के गर्नु भनेर पहिले गाई र बाख्रा पाले । गाईको दुघ धेरै नहुने । दुध छ भनेर छिमेकीहरु घरमै आउन थाले । अनि भैंसी किनेर दुध बेच्न थाले । कहिले त १० वटासम्म भैसीं पुग्ने गरेको छ ।
बाख्रा पालन गर्दा दुई वर्ष सम्म आम्दानी नहुने भएपछि बाख्रा पालन पनि छोडेर हाल भैंसी पाल्दै आएको उनको भनाई छ । आजभोली तीन वटा भैंसी दुधालु छन । उनले भनिन्, बिहान र बेलुका गरि करिब २२ लिटर दुध दिनहु बेच्दै आएकी छु । बिहानको दुध खलंगा बजारसम्म (करिब एक किमि)टाढासम्म पुगाए पनि बेलुकीको दुघ घर वरपरै पुगाउन सकिएको छैन । प्रतिलिटर एक सय रुपैयाँका दरले दुघ बिक्रि हुदा दैनिक कमाई दुई हजार बढी हुने उनले जानकारी दिईन ।
भैंसी पालनबाट घर खर्च, छोराहरुको पढाई खर्च सबै आफुले धानेको उनले बताईन । अन्य ठाउँमा गएर अरुको नोकरी गर्नुभन्दा आफ्नो काम गर्न निकै सहज हुने उनको भनाई छ । डोटीबाट पराल किनेर ल्याउछु । उनले भपिन, डडेल्धुराका विभिन्न गाउँबाट खर किनेर गाडीमा यही आई पुग्छ । खोर नजिकै एक जना स्थानीयले बाँझो जमिन कमाई खानु भनि दिनुभएको छ । त्यो जमिनमा घाँस रोप्ने गरेको छु । गोठमा घाँस ल्याईसके पछि १० वटा भैंसी पालन गर्दासमेत कुनै असहज नहुने उनले सुनाईन ।
यस अघि काम गर्ने एक जना महिला राखेको भए पनि अहिले भने एक्लैले भैंसी पालिरहेको उनले बताईन । वर्षमा करिब ४०–५० हजार रुपैयाँ बराबरको गोठे मल बिक्रि हुदै आएको र यसैबाट भैंसीको आहार पराल र खर किन्ने पैसा पुग्ने उनको भनाई छ ।
एक गाई, केही बाख्रा र कुखुरा अहिले पनि उनको गोठमा छन । गाउँबाट भैंसी, गाई, बाख्रा किनेर आफ्नो गोठमा पुगाई अरुलाई बिक्रिसमेत गर्दै आईरहेको उनले बताईन । उनले भूमिका पशुपालन फर्म दर्तासमेत गरेकी छन । फर्म दर्ता गरि भैंसी पालन गर्दै आए पछि वार्षिक रुपमा नविकरणका लागि करिब सात हजार खर्च हुने गरेको उनले बताईन । तर फर्म दर्ता गर्दा किसानलाई फाईदा भने केही पनि नभएको उनको गुनासो छ । सरकार तथा सरकारी कार्यालयहरुले काम गर्ने किसानलाई नदेख्ने गरेको उनले बताईन ।












