जोगबुडाका मतदाता भन्छनः बाढि पहिरो रोकथाम गर्नेलाई भोट

Image

डडेल्धुरा । चुरे पर्वत क्षेत्र भित्रिमधेश जोगबुडाका मतदाताहरुले वर्षेनी बाढीले उर्वर जमिन र वस्ती कटानको समस्या भोग्दै आएका छन । जिल्लाको झण्डै आधा जनसंख्या रहको भित्रिमधेशमा दुई वटा स्थानीयतहरु परशुराम नगरपालिका र आलिताल गाउँपालिका रहेको । नदी खोला किनारको बिशाल फाँटहरुमा उब्जनी राम्रो हुने गरेकाले जिल्लाको अन्न भण्डारका रुपमा भित्रिमधशेलाई लिईन्छ ।

तर यी उर्वर फाँटहरु बस्दै आएका स्थानीयले वर्षेनी बाढी र कटानको समस्या भोग्दै आईरहेकका छन । आलिताल गाउँपालिकामा रगुन खोला वारिपारिका वस्तीहरु घरेलु, गोदाम, मौरीलगाएतका क्षेत्रहरु बगरमा परिणत हुँदै आएको स्थानीय मैना धामीले बताईन ।
नेताहरु अरुबेला आउँदैनन् । चुनावको बेला मात्र आउँछन । उनले भनिन्, त्यसकारण नदी नियन्त्रण, तटबन्ध र बाढी प्रभावितहरुलाई उपयुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउने स्पष्ट रुपमा योजना लागु गर्ने उम्मेदवारलाई मतदान गर्ने हाम्रो योजना छ ।

२०६५ सालमा रंगुन, पन्तुरा, सादनी खोला र महाकाली नदीले कटान गर्दा परशुराम नगरपालिका क्षेत्रका परिगाउँ, तातापानी, सादनी, सरगौडा, सिमलजाला, सिमलखेत, मोटाहल्दु र लालढुगालगाएतका क्षेत्रहरु नदी कटानले बगर बनेका थिए । त्यसयता वर्षेनी हुने कटानले ३०-३५ परिवार भगवान भरोसामा छौ । सादनी गाउँकी स्थानीय सरस्वती भट्टराईले भनिन्, कतिपय भू-भागको त नाम निसानासमेत छैन ।

२०६० साल पछि रंगुन पन्तुरा खोलाले बितण्डा मच्चाउन थाल्यो । परशुराम नगरपालिका ६ ठन्नजनाका स्थानीय बजिरसिंह साउदले भने, पहिले यी खोला वरपर खैयरका रुख थिए । सरकारले यस क्षेत्रमा ६ वटा खैयरभट्टी खोलेर खैयरका रुखहरु सबै काटेर लग्यो । त्यस यता पन्तुरा खोलाले वर्षेनी रुपमा जमिन र वस्ति बगाउदै आएको छ । उब्जाउ खेत बगरमा परिणत हुदा स्थानीय ज्यान जोगाउन सामुदायीक वनमा टहरा बनाएर बस्दै आएका छन ।

२०६५ भदौ महिनाको बाढीले सर्गौडा, ठन्नजाला र सिमलखेत गरी तीन गाउँ नै विस्थाीत गरेको उनले बताए । बाढीले बगाएको करिब १० वर्ष पछि यो खोला किनार वरपर सरकारले करोडौ रकम खर्च गरि तटबन्ध निर्माण गरेको थियो । उनले थपे, बाढीले बगाएको खेत फेरी बनाउदै स्थानीय बगरमा फर्किए पनि पछिल्ला वर्षहरुमा तटबंध नै बगाएको छ ।

गहिरो जग हालेर तटबन्ध निर्माण नगरिदा तटबंध नै बगाएको उनको भनाई छ । सरकारले आवश्यक बजेट नदिदा दिर्घकालिन बलियो तटबन्ध निर्माण गर्न नसकिएको उनले बताए । तटबन्धसमेत बगाएकाले अहिले स्थानीय पलायन हुन थालेको उनले सुनाए ।

चुरे पहाडको टुप्पोमा रहेको आलिताल गाउँपालिका-७ को बलौचा गाउँमा २०७७ सालको भिषण वर्षाले पुरै पहाड नै खस्कियो । पहाड नै खसेको पहिरोले गाउँका पुरै ५६ घर परिवार विस्तापित हुन पुगे । १५ घरधुरी त पूर्ण रुपमा नै विस्थापित भएको स्थानीय लक्ष्मी बोहराले बताईन । त्यस यता पहिरो गएकै स्थानमा क्षती नपुगेको जेठाजुको घरमा बस्दै आएको उनले सुनाईन । तर वर्षातको समयमा भने गाउँभन्दा केही पर गैर सरकारी संस्था एमपीडिएसले दिएको टेण्टमा बस्दै आएको उनले जानकारी दिईन ।

पहिरो गएको ठाउँ खण्डहर बनेकाले अहिले प्राय विस्थापीतहरु कामको सिलसिलामा भारत तिर पलायन भएको उनले बताईन । उनका श्रीमान पनि रोजगारीका लागि भरत नै छन । पहिरोले विस्तापित भएको पाँच वर्ष पुगे पनि सरकारले कुनै व्यवस्था नगरिएको भन्दै उनले आफुहरुको व्यवस्थापन गर्ने उम्मेदवार लाई भोट दिने बताईन ।

जिल्लामा सबै भन्दा बढी मतदाता रहेको भित्रिमधेशको परशुराम नगरपालिकामा २२ हजार २९१ र आलिताल गाउँपालिकामा ११ हजार ११४ मतदाता सख्या रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीले जानकारी दिए ।

फागुन २१ गतेको आसन्न निर्वाचनमा बाढी पहिरोको समस्याबाट आहात बनेका भित्रिमधेशका स्थानीयहरु माझ प्रदेश सभा क मा पर्ने यस क्षेत्रकै स्थानीय प्रतिनिधि सभा सदस्याका उम्मेदवार बनेका छन । प्रमुख दल नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह माल र नेकपा एमालेका उम्मेदवार चक्त स्नेही परशुराम नगरबासी हुन । उनका योजना के कस्ता हुने मतदाता पर्खामा छन ।

परशुराम नगरपालिका र आलिताल गाउँपालिकासंग भुगोल जोडिएको महाभात पर्वतमा रहेको भागेश्वर गाउँपालिका बासी नेता नैनसिंह महर नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन ।