डडेल्धुरामा मतगणना स्थल तयार, मतदान स्थल तयार पारिदै

Image

डडेल्धुरा । आसन्न निर्वाचनको मतगणनाका लागि स्थल तयार पारिएको छ । जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार पारिएको हो । अदालतको ईजलास हलमा तार जाली लगाई मतगणना स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्पन्न पश्चात मतपेटिका मतगणना स्थलमा पुगाईसके पछि २२ गते बिहान देखि मतगणना सुरु गरिने छ ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकासंग सिमा जोडिएको डडेल्धुराको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका ७ मलाशलगायतका मतदान केन्द्रहरु बाट मतपेटिका पुगाउन करिब सात घण्टा बढी समय लाग्ने देखिएको उनले बताए । उनका अनुसार मध्यराति वा २२ गते बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलसम्म पुगाई सके पछि दुई समुहमा मतगणना गर्ने गर्ने योजना छ ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र रहेका छन भने एक अस्थाई मतदान केन्द्र गरि जम्मा १४२ मतदान केन्द्र छन । मुख्य निर्वाचन अधिकृत कोईरालाका अनुसार सोमबार नै मतदान अधिकृतलगायतका कर्मचारीहरु आ आफ्नो मतदान केन्द्रमा आवश्यक सामाग्रीसहित पुगिसकेका छन । मंगलबार बिहानै देखि मतदान केन्द्र तयार पारिदै छन । मतदान केन्द्रहरुमा दिउसो २ः०० बजे बैठक बोलाई उम्मेदवार र वा प्रतिनिधिहरु लाई आवश्यक जानकारीसहित शान्त र भय रहित वातावरणमा मतदान सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए ।

निर्वाचन सम्पन्न गर्न ८४९ जना कर्मचारी खटाईएको उनले जानकारी दिए । उनका अनुसार १४२ मतदान अधिकृत, १४२ सहायक मतदान अधिकृत, ४२३ सहायक कर्मचारी, १४२ सहयोगी कर्मचारी र ३९१ स्वयम सेवक खटाईएको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थिले दिएको जानकारी अनुसार डडेल्धुरामा ४६ हजार ४४६ महिला र ४६ हजार ९५७ जना पुरुष परि जम्मा मतदाता संख्या ९३ हजार ४०३ रहेको छ ।

डडेल्धुरामा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवार रहनु भएको छ । नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायत चुनावी मैदानमा छन ।

यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ । तीन जना स्वतन्त्र उम्मेदवार रहनु भएको छ । जसमा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेती छन ।