डडेल्धुराले पाउने भयो संसदमा नयाँ अनुहार र पार्टी

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका बाहेकका ६ वटा पालिकाका मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी मुख्य प्रतिशपर्धी कांग्रेसका नैनसिंह महरभन्दा पाँच हजार बढी मतले अगाडी देखिएका छन । सुरुबाटै अगाडी रहेका जोशीको मतअन्तर फराकिलो हुदै गएको छ ।

मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाका अनुसार अहिलेसम्म ३६ हजार ७२६ मत गणना हुदा रास्वपाका उम्मेदवार जोशीले १५ हजार २१८ मत प्राप्त गरेका छन । उनका मुख्य प्रतिशपर्धी कांग्रेसका उम्मेदवार महरले भने ९ हजार ९०७ मत प्राप्त गरेको उनले जानकारी दिए । उनका अनुसार दुई उम्मेदवार बिचको मतअन्तर पाँच हजार १९६ रहेको छ । अहिलेसम्म दुई हजार ३८ मत बदर भएका छन ।

२०७० सालको दोस्रो सविधान सभा सदस्यामा नेपाली कांग्रेसका उम्मेदवार पूर्व प्रधामन्त्री एवं कांग्रेस निवर्तमान सभापती शेरबहादुर देउवासंग फराकिलो मतअन्तरले पराजित भएका जोशीको जित सुनिश्चित भएको छ । उक्त निर्वाचनमा जोशी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । यसै पार्टीबाट २०७४ मा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यको निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार कर्ण मल्लसंग जोशी पराजित भएका थिए ।

पछि नेकपा एमाले छोड्दै नेकपा समाजवादी पार्टी प्रवेश गरेका जोशीले मल्लकै सहयोगमा २०७९ मा भएको प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका थिए । प्रतिनिधि सभा सदस्यको यो निर्वाचनमा उनले प्रदेश सभा सदस्यबाट राजिनामा दिदै उज्यालो नेपाल पार्टीबाट रास्वपा प्रवेश गरे ।

सबैभन्दा बढी मतदाता भएको भित्रिमधेशको परशुराम नगरपालिकाबाट मतगणना सुरुवात गरिदा देखि नै जोशी अन्य उम्मेदवार भन्दा अगाडी देखिएका थिए । परशुराम बाटै नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेबाट उम्मेदवर रहेका छन । नेकपाबाट मानसिह माल र एमालेबाट चक्र स्नेही परशुराम नगरपालिका कै उम्मेदवार हुदा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम गरेको थियो ।

जोशीको जित सुनिश्चित हुदा डडेल्धुराले ३४ वर्ष पछि संसदमा नयाँ अनुहार पाउने भएको छ । २०४८ साल यताका सात वटा निर्वाचनमा डडेल्धुराबाट देउवाले चुनाव जित्दै आएका थिए । उनले उम्मेदवारी नदिए पछि डडेल्धुराबाट नयाँ अनुहार र नयाँ पार्टीबाट संसद पाउने भएको छ ।