डडेल्धुरा । डडेल्धुरा जिल्लाले ३४ वर्ष पछि संसदमा नयाँ अनुसार पाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पुर्व प्रधानमन्त्रि एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भई निर्वाचित भएका थिए । यस कारण डडेल्धुरा जिल्ला लाई कांग्रेसको किल्ला मानिन्थ्यो ।
निर्वाचनको अन्तिमममा कांग्रेस पार्टीबाट देउवा उम्मेदवार नबन्दा यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याउदै विजयी भएका छन ।
मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोरालाईका अनुसार डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । डा. जोशीका निकटतम प्रतिद्धन्दि कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे । यसैगरी नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह मालले ६ हजार ४३८ मत प्राप्त गरेको उनले जानकारी दिए ।
डा. जोशी २०७० सालको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पार्टीबाट उम्मेदवार भई देउवासंग फराकिलो मतअन्तरले पराजित भएका थिए । देउवाले २३ हजार ९२० मत प्राप्त गर्दा जोशीले सात हजार १९० मत मात्रै प्राप्त गरेका थिए । जोशी १६ हजार ७३० मत मतअन्तरले पराजित भएका थिए । देउवा र जोशीको गृह पालिका एउटै गन्यापधुरा हो ।
२०७४ सालमा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यमा पनि जोशी नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति कर्ण मल्लसंग झिनो मतअन्तरले पराजित भएका थिए । एउटै गाउँका उनीहरु सुदूरपश्चिम क्षेत्र (ख) बाट उम्मेदवार बनेका थिए । मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५७ मत पाएर ३५६ मतले पराजित भएका थिए ।
त्यसपछि जोशी नेकपा एमाले पार्टी फुट्दा माधब कुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा पुगेका थिए । २०७९ सालमा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यको दोस्रो निर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवारको टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बने । कांग्रेसमा विद्रोह गरि बीपि कांग्रेस बनेका मल्लकै सहयोगमा जोशी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनले कांग्रेसका उम्मेदवार गोबिन्दराज बोहरालाई २०० मत अन्तरले पराजित गरेका थिए । जोशीले ११ हजार १७० मत प्राप्त गर्दा बोहराले १० हजार ९७० मत प्राप्त गरेको तथ्यांक जिल्ला निर्वाचन कार्यालयको छ ।
अहिले चुनाव घोषण भए पछि जोशी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए । पछि उज्यालो नेपाल र रास्वपा पार्टी एकिकरण हुदा उनी पनि रास्वपामा समाहित भए । तर उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ रास्वपाबाट केही घण्टामै फकिर्दा जोशी भने रास्वपा मै बेसका थिए ।
२०४८ साल पछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार डा. जोशीसंग पराजित भए ।
एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा यस अघि २०४८ साल यता भएका निर्वाचनमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापती शेरबहादुर देउवा उम्मेदवार बन्दै निर्वाचित भएका थिए । यस पटक भने उनले उम्मेदवार मनोनयन दर्ताको अघिल्लो राति मात्रै उम्मेदवार नबन्ने जानकारी गराएका थिए ।















