जेनजी आन्दोलनः गोली हान्न लगाउनेलाई कारबाही सिफारिस

Image

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन ग्रहण गर्दै आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रीपरिषद्मा पेस गरेर कार्यान्वयन गर्ने बताईन । “तपाईंहरूले एकदमै मेहनत गर्नुभएको छ । यसका लागि धन्यवाद छ । सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएन । पछि समय पनि थप्नुपर्ने भयो,” उनले भनिन्, “तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएरै आयोगमा नियुक्त गरेका हौँ । आ–आफ्नो क्षेत्रमा तपाईंको प्रख्याति छ । त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ । दुधको दुध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ ।”

प्रतिवेदन सार्वजनिक गर्ने कुरामा छलफल र अधययन गरेर कार्यान्वयन प्रक्रिया अघि बढ्ने उनले प्रस्ट पारिन । प्रतिवेदनमा भएका सबै दस्ताबेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने उनले वचन दिईन ।

सोही कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले प्रस्ट पारे ।

हत्या गर्नेलाई कारबाही सिफारिस

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्ने, हान्न लगाउने, गोली नरोक्ने सबै सिफारिसमा परेको बताए ।

“सरकारले हामीलाई जाँचबुझ आयोग ऐनबमोजिम छानबिन गर, जाँचबुझ गर भन्यो । गत भदौ २३ गतेको घटनामा क–कसको कमजोरी हो ? के कारबाही गर्ने हो सिफारिस गरेका छौँ ।” उनले भने, “हामीले सबै जाँचबुझ ग¥यौँ । जसकारण किशोरकिशोरीले मृत्युवरण गरे । हत्या गर्नेलाई कानुनबमोजिम कारबाही गर भनेर सिफारिस गरेका छौँ । सिफारिसमा गोली हान्ने, हान्न लगाउने, गोली नरोक्ने सबै परेका छन् । जो–जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही सिफारिस गरेका छौँ ।”

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको हो भन्ने प्रश्नमा अप्रत्यक्ष उत्तर दिँदै उनले दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको बताएयो । “हामीले काम देश र जनताका लागि गरेको हो ।

देशका लागि काम गरेकाले सन्तोष छ, केही दुःख भएन,” उनले भने । आफूहरूले निर्वाचनअघि प्रतिवेदन बुझाउने तयारी गरे पनि निर्वाचन परिणाममा असर पर्ने सम्भावना देखेको र काम पनि नसकिएकाले रोकेको उनले बताए । उनले प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुन सक्ने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।