डडेल्धुरामा १२ वर्ष पछि पुनः हाट बजार संचालन हुदै

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुरामा १२ वर्ष पछि पुनः हाट बजार संचालनको तयारी गरिएको छ । अमरगढी नगरपालिका ५ बसपार्क पछाडी रहेको डडेल्धुरा उद्योग वाणिज्य संघको कार्यालय परिसरमा २०७० सालमा पहिलो पटक हाट बजार संचालन गरिएको थियो । करिब दुई वर्षसम्म हाट बजार संचालन गरिएपनि पछि बन्द भएको थियो । हाल बसर्पाक पछाडीको खुल्ला स्थानमा पुनः हाट बजार संचालन गर्ने तयारी कृषि ज्ञान केन्द्र, अमरगढी नगरपालिका र डडेल्धुरा उद्योग वाणिज्य संघले गरेको हो ।

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक महताका अनुसार १२ वर्ष अघि दुई वर्षसम्म संचालनमा आएको हाट बजार व्यवस्थित गर्न नसक्दा बन्द भएको थियो । वर्षा हुदा उक्त क्षेत्र हिलाम्य हुने गरेकै कारण हाट बजार बन्द हुन पुगेको हो । बजार नजिकै भएपनि करिब १०० मिटर सडक र हाट बजार स्थल पक्कि बन्न नसक्दा हिलाम्मे हुने भएकै कारण बजार बन्द हुन पुगेको थियो । हाल भने पक्कि सडक बाटो निर्माण भईरहेकाले शनिबार देखि हाट बजार संचालनका लागि पुनः तयारी थालिएको छ ।

कृषि उपजको सहज बिक्री वितरण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि हाट बजार सञ्चालनमा ल्याइन लागेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनका अनुसार कृषि थोक तथा हाट बजार सञ्चालक समितिको आयोजनामा र कृषि क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायहरू तथा उद्योग वाणिज्य संघ डडेल्धुराको समन्वयमा हाट बजार सञ्चान गरिन लागिएको हो । हाट बजार शनिबार देखि संचालनमा ल्याई प्रत्येक शनिबार बिहान ११ बजेदेखि लाग्ने उनको भनाई छ ।

कार्यालय प्रमुख पनेरुका अनुसार हाट बजारमा जिल्लाका कृषक तथा व्यापारीहरूले कृषि उपज, वनपैदावार, पशुजन्य वस्तु, घरेलु उत्पादन तथा हस्तकलाका सामग्रीहरू किनबेच गर्न सक्नेछन । यसले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई ताजा तथा स्थानीय सामग्री सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्रले एक सुचना जारी गर्दै सम्बन्धित सबै कृषक तथा व्यापारीहरूलाई हाट बजारमा सहभागी भई आफ्ना उत्पादनको बिक्री वितरण गर्न अनुरोध गरेको छ । हाट बजारमा स्टल निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए ।