काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएसँगै शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो ।
निर्वाचन समितिका संयोजक प्रकाश रसायली (स्नेही)का अनुसार शनिबार साँझसम्म सर्वसम्मत उम्मेदवार तय गर्न पार्टीले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको सहभागिता रहनेछ ।
संयोजक रसायलीले भने, “पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौतीहरूको सामना गर्न संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने आवश्यकता छ । कार्यसम्पादन समितिको निर्देशनअनुसार भोलि साँझसम्म साझा उम्मेदवार तय गर्ने प्रयास हुनेछ ।” उनले सभापति गगनकुमार थापाले पनि सर्वसम्मत चयनका लागि नेताहरूसँग आवश्यक छलफल गर्ने जानकारी दिए।
पार्टीभित्र दलको नेताका लागि विभिन्न नामहरू चर्चामा आएपछि चयन प्रक्रिया केही पेचिलो बनेको छ । सभापति थापाले सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेको बुझिएको छ । यस्तै, अर्का सांसद अर्जुननरसिंह केसीले पनि सहमति नभए आफूले उम्मेदवारी दिने अडान राख्नुभएको छ । सहमतिको प्रयास सफल नभए पुनः निर्वाचन तालिका तय गरिने कांग्रेसले जनाएको छ ।















