डडेल्धुरा । बसाईसराई गरि गाउँलेहरु तराई गएपछि बाँझो रहेको जमिनमा सामुहिक अनार खेती गरिएको छ । अजयमेरु गाउँपालिका–२ बडी गाउँको करिब ७०० रोपनी जमिन भाडामा लिई १० हजार अनारका विरुवा रोपिएको महादेव अनार खेती समुहका अध्यक्ष मदन पनेरुले बताए । उनका अनुसार २० वर्षका लागि उक्त जमिन भाडामा लिई तीन वर्ष पहिले अनारका विरुवा रोपिएका हुन ।
२० जनाको महादेव अनार खेती समुह बनाई अनारका विरुवा रोपेर घेरबार गरि हुर्काई रहेको समुहका अध्यक्ष पनेरुले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र डडेल्धुराले आर्थिक वर्ष २०८०/८१ मा ३० लाख र गत आर्थिक वर्षमा १० लाख गरि ४० लाख रकम अनुदान सहयोग गरेको छ । पहिलो वर्ष अनारका विरुवा खरिदमा ज्ञान केन्द्रले सहयोग गरेको थियो, उनले भने, समुहबाट थप १५ लाख रकम खर्च गरेर विरुवा रोपेका थियौ । अर्को वर्ष खोलाबाट लिफ्ट सिंचाई योजना र घेरबारमा सहयोग पाएका थियौ ।
अनारखेती गरिएको करिब एक किलोेमिटर क्षेत्र गत वर्ष तारजालीले घरबार गरेको उनले बताए । अनार खेतीसंगै विरुवा उत्पादन गर्ने प्लास्टिक टर्नेल पनि बगौचामा निर्माण गरिएको उनको भनाई छ । तीन वर्ष पहिले रोपिएका विरुवा गत वर्ष देखी नै फल लाग्न सुरु भएको छ । उनले भने, सुरुमा १० हजार विरुवा मगाएर रोपेका थियो । त्यो वर्ष करिब १० प्रतिशत विरुवा मरेर गए । गत वर्ष मरेको ठाउँमा फेरी विरुवा रापेका हौ ।
गत वर्षमै सानै बोटमा फल लागेपछि कृषि प्राबिधिकको सल्लाहमा सानैमा टिपेर फालेको उनले बताए । यस वर्ष पनि अनारमा फल लागेकाले साना बोटका फल टिपेर फाल्नु पर्ने उनले जानकारी दिए । अनार बगैचामा समुहका सदस्यहरु संगै चार जनाले वर्षभरी नै काम गर्ने गरेको उनले बताए । ठूलो बगैचा भएकाले मल, सिचाई, काटछाट गर्न चार जना कामदारले वर्ष भरी नै काम गरिरहेको उनको भनाई । गोडनेल, मलराख्ने समयमा समुहका सबै सदस्यहरु मिलेर काम गर्दै आईरहेको उनले जानकारी दिए ।












