डडेल्धुरा । जिल्लाको कुल भूभागको झण्डै ७५ प्रतिशत वनजंगलले ढाकेको डडेल्धुरामा अतिक्रमण पनि बढ्दै गएको छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा महाभारत पर्वतसंगै चुरे र नदी, खोला किनार बेसिन क्षेत्रहरु रहेका छन । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै मुख्य कैलाली–डडेल्धुरा जोड्ने महाकाली राजमार्ग डडेल्धुरामा करिब ५५ किमि पर्दछ ।
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार वनजंगलसंगै यस राजमार्ग छेउछाउको जमिनमा अतिक्रमण बढेको छ । हाल पाँच मिटर चौडा कालोपत्रे रहेको यस राजमार्गको छेत्राघिकार दायाँ बाँया २५–२५ मिटर बनाई ५० मिटर फराकिलो बनाउने योजना छ ।
तर राजमार्ग क्षेत्रमा सडक र वनको जमिन अतिक्रमण गरि किनारमै पक्कि घरहरु निर्माण गरिएका छन । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार डडेल्धुराको कुल क्षेत्रफल एक लाख ५३ हजार ८०० हेक्टर क्षेत्रफल रहेको छ । यसमध्ये एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार जिल्ला भरिमा हाल ३६३ दशमलब ३८ हेक्टर वनको जमिन अतिक्रमण भएको छ ।
आर्थिक वर्ष २०५५/०५६ यता मात्रै यो क्षेत्रफल अतिक्रमण भएको पाईएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत भीमप्रसाद कडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म अतिक्रमण गरिएको ४६ दशमलब ३२ हेक्टर क्षेत्रफल हटाईएको छ । आर्थिक वर्ष २०७८/०७९ साल यता अतिक्रमण हटाउन सुरु गरिएको थियो ।
केही दिन अघि मात्रै डडेल्धुराको सिमाना गैरा बजार देखि अनारखोली बजारसम्म अतिक्रमण गरिएको क्षेत्रको लागत संकलन गरिएको छ । उनले भने, वन ऐनमा प्रष्ट रुपमा वनको जमिन उल्लेख गरिएको छ । वन बाहेक ऐलानी प्रति भन्ने उल्लेख गरिएको छैन । आवादी र वनको जमिन भनेर उल्लेख गरिएकाले ऐलानी र प्रति जमिनका सवालमा वन ऐनमा उल्लेख गरिएको छैन । वन ऐन अनुसार कोही कसैलाई जग्गा दर्ता गर्न मिल्दै । व्यक्ति, संस्था एवं सडक क्षेत्राधिकारको जमिन छोडेर सवै वनको हुने उनले बताए ।
महाकाली राजमार्ग छेउछाउ अतिक्रमण गरि बसेकाहरुको लागत संकलन गरिए पनि सडक क्षेत्राधिकार के कती रहने भन्ने कित्ताकाट भईनसकेको उनले जानकारी दिए ।
२०३२ साल तिर महाभारत पर्वतको हगुल्टे, साहुखर्क भएर सडक खनिए पछि यस क्षेत्रमा अतिक्रमण बढ्रदै गएको थियो । गैरा बजारमाथिका विभिन्न बजार, साहुखर्क, मेलखर्क, भातकाँडा, स्वाउने, भालुमारे, अनारखोली अहिले बजार बनिसकेका छन । सडक खनिने बेला तीन वटा घर (गोठ,खर्क) भएको साहुखर्कमा अहिले दर्जन बढी पसल, हाटेल र दुई दर्जन जती घरहरु बनाई स्थानीयहरुले खेतीपाती गर्दै आईरहेको स्थानीय नारायण देउवाले बताए । राजमार्ग छेउमा हाल पक्कि घरहरुसमेत निर्माण भइरहेका छन ।
महाभारत वनले ओगटेको क्षेत्र ५३ हजार हेक्टर हो । यसको ४२ हजार २ सय ८७ हेक्टरमा वन छ, बाँकीमा बस्ती विस्तार भएको वन विभागकै अध्ययनले देखाएको छ । एक दशकमा झन्डै १८ हजार हेक्टर क्षेत्रफल अतिक्रमण भएको अनुमान छ ।
यस्तै उर्वर भूमी क्षेत्र चुरेको भित्रिमधेशमा पहाडबाट बसाईसराई गरि जानेक्रम बढेपछि जमित अतिक्रमण बढेको डिभिजन वन अधिकृत कडेलले बताए । उनका अनुसार भित्रिमधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका महाकाली नदी, रंगुन, पन्तुरा खोलालगायतका दर्जनौ खोलाका बेसिन क्षेत्र भएकाले अन्नबाली, तरकारी, फलफूलको राम्रो उत्पादन हुन्छ । खोला किनारमा सिंचाईसमेत गर्न सहज हुने भाएकाले अघिकांस भूभाग अतिक्रमणमा परेको उनको भनाई छ ।
उनका अनुसार मन्त्रालयको परिपत्र अनुसार अतिक्रमित भूमिको लागत संकलन गरि जिल्ला प्रशासन कार्यालयमा पठाईएको छ । अतिक्रमित भूमि हटाउन प्रशासनले आवश्यक पहाल थालेसंगै डिभिजन वन कार्यालयले पनि काम थाल्ने उनले बताए ।
















