प्रेस स्वतन्त्रताको पक्षमा डडेल्धुरामा एउटै आवाज

Image

पत्रकार महासंघको साधारणसभामा सरकारका अंकुशविरुद्ध खबरदारी

डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औँ साधारणसभाको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवाज उठाइएको छ।

अमरगढी नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि विभिन्न किसिमका दबाब र अंकुश बढिरहेको भन्दै स्वतन्त्र पत्रकारिताको संरक्षण लोकतन्त्रका लागि अनिवार्य भएको धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सुशासन, विकास र लोकतन्त्र मजबुत बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित हुन आग्रह गर्दै पत्रकारितामा कुनै प्रकारको सिन्डिकेट स्वीकार्य नहुने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारीले सरकारले मिडिया हाउसमाथि विभिन्न प्रकारका अंकुश लगाउन खोजेको आरोप लगाए। उनले सञ्चारकर्मीहरू अन्योलपूर्ण अवस्थामा काम गर्न बाध्य भइरहेको उल्लेख गर्दै परिवर्तनका आन्दोलनमा पत्रकारहरूको योगदान राज्यले बिर्सन नहुने बताए।

त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति का अध्यक्ष भरत शाह ले पत्रकारका अधिकार संकुचित पार्ने प्रयास भइरहेको दाबी गरे। उनले पत्रकारहरू अनुशासित र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै कर्मचारीलाई धम्क्याउने वा दबाब दिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने बताए।

डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वली ले पत्रकार सुरक्षा प्रति प्रशासन संवेदनशील रहेको बताए। सामाजिक सञ्जालमा आउने सूचनाको सत्यतथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे।

कार्यक्रममा डडेल्धुरा उद्योग वाणिज्य संघ का अध्यक्ष दीपक महता ले सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशामा मार्गनिर्देशन गरिरहेको बताए।

डडेल्धुरा खेलकुद विकास समिति का अध्यक्ष जगतबहादुर ऐरले पत्रकारलाई “आवाजविहीनहरूको आवाज” को संज्ञा दिँदै पत्रकार अधिकारमाथि अंकुश लगाउने प्रयास भइरहेको बताए।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले व्यावसायिक तथा खोज पत्रकारिताको आवश्यकता औंल्याउँदै पत्रकारहरूको क्षमता विकासमा नगरपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

कार्यक्रममा नेकपा जिल्ला नेता डम्बर साउद ले भ्रष्टाचारविरुद्ध निर्भीक रूपमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे भने नेकपा ९एमाले० डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही ले पत्रकारितालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।

उद्घाटन सत्रमा विभिन्न विधामा सक्रिय पत्रकार तथा संस्थाहरूलाई सम्मान पनि गरिएको थियो। सक्रिय पत्रकारिता पुरस्कारबाट अमरगढी एफएमकी स्टेशन म्यानेजर ममता भट्ट सम्मानित भएकी छन्। खोज पत्रकारिता पुरस्कार गोरखापत्र डडेल्धुराका संवाददाता पुष्कर भण्डारीलाई प्रदान गरिएको थियो।

युवा सशक्त पुरस्कार सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारी लाई प्रदान गरिएको थियो। साथै पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सदस्य बाबुराम श्रेष्ठ तथा संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै ऋषि खोला महिला सामुदायिक वन लाई पनि सम्मान गरिएको थियो।