१६औँ राष्ट्रपति रनिङ शिल्डमा कैलाली च्याम्पियन, डडेल्धुराको सफल व्यवस्थापनले पहाडी खेलकुदमा नयाँ उत्साह

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसँगै खेलकुदको राजधानी जस्तै बनेको डडेल्धुरा अहिले खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको चर्चाको केन्द्र बनेको छ। पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने अवसर पाएको डडेल्धुराले सफल व्यवस्थापन, उल्लेखनीय दर्शक सहभागिता र खेलमैत्री वातावरणमार्फत नयाँ उदाहरण प्रस्तुत गरेको छ।

अमरगढी नगरपालिका–४ स्थित ऐतिहासिक टुँडिखेलमा तीन दिनसम्म चलेको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका सयौं खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अन्तिम पदक तालिकामा कैलालीले आफ्नो वर्चस्व कायम राख्दै ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जितेर च्याम्पियन बन्न सफल भयो।

कञ्चनपुर १७ स्वर्ण, १३ रजत र १३ कास्यसहित दोस्रो स्थानमा रहँदा आयोजक जिल्ला डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्य गरी कुल ३० पदक जित्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। घरेलु मैदानमा डडेल्धुराका खेलाडीहरूले देखाएको प्रदर्शनले स्थानीय खेलप्रेमीलाई उत्साहित बनाएको थियो।

बैतडी चौथो स्थानमा रहँदा दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम क्रमशः पाँचौँदेखि नवौँ स्थानसम्म सीमित भए। प्रतियोगिताभर ६६ स्वर्ण, ६६ रजत र १०० कास्य गरी कुल २३२ पदक वितरण गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताइन्। उनले सुदूरपश्चिम खेलकुदका हिसाबले प्रतिभाशाली प्रदेश भएको उल्लेख गर्दै खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदेशको पहिचान स्थापित गरिरहेको धारणा व्यक्त गरिन्।

राज्यमन्त्री खड्काले खेलाडीलाई आवश्यक पूर्वाधार र सेवा–सुविधा उपलब्ध गराउन अझै चुनौती रहेको स्वीकार गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारबाट पर्याप्त लगानी आवश्यक रहेको बताइन्। खेलाडीको सम्मान र प्रोत्साहनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष भनेको दर्शक सहभागिता रह्यो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार डडेल्धुरामा देखिएको दर्शकको उत्साहले आयोजकहरूलाई नै आश्चर्यचकित बनाएको थियो।

कैलाली र कञ्चनपुरजस्ता ठूला जिल्लामा हुने प्रतियोगितामा समेत कहिलेकाहीँ अपेक्षित दर्शक देखिँदैनन्, तर डडेल्धुरामा हजारौं खेलप्रेमी मैदानमा उपस्थित भए, उनले भने, यही उत्साहले आगामी दिनमा पहाडी जिल्लाहरूमा पनि ठूला प्रतियोगिता आयोजना गर्ने आत्मविश्वास बढाएको छ।

प्रतियोगिताले केवल पदक विजेता मात्र उत्पादन गरेन, प्रदेशका उदीयमान खेल प्रतिभाहरूलाई पहिचान गर्ने अवसर पनि प्रदान गर्‍यो। ग्रामीण तथा दुर्गम जिल्लाबाट आएका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका राष्ट्रिय खेलाडी बन्ने संकेत दिएका छन्।

पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको डडेल्धुराले व्यवस्थापन, सुरक्षा, दर्शक सहभागिता र खेल वातावरणका दृष्टिले सफल परीक्षा उत्तीर्ण गरेको मूल्यांकन गरिएको छ। प्रतियोगिताले जिल्लाको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्नुका साथै पहाडी जिल्लाहरूमा पनि ठूला खेलकुद कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सकिने सन्देश दिएको छ।