गाउँमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

Image

डडेल्धुरा । स्वास्थ्यकर्मीले गाउँमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिएका छन । गन्यापधुरा गाउँपालिका–४ को आयोजना र कैलपालमाण्डौ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रमअन्तर्गत वडा नं. ४ का विभिन्न गाउँ तथा टोलमा पुगेर स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा रक्तचाप (प्रेसर) जाँच, दमका बिरामीलाई औषधि वितरण तथा आवश्यक भिटामिन प्रदान गरिएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेव डिल्लीराज पनेरुले जानकारी दिए।

उनका अनुसार परीक्षणका क्रममा अधिकांश ज्येष्ठ नागरिकमा उच्च रक्तचाप र दमसम्बन्धी समस्या बढी देखिएको छ। स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने बिरामीलाई लक्षित गरी गाउँमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

वडा अध्यक्ष नरेशकुमार भट्टले आफू निर्वाचित भएदेखि यस्ता सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाउँदा खुसी लागेको स्थानीय बहादुर दमाईले बताए।

शिविरमा विभिन्न रोगका करिब २०० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ।