काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका हुन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी लागेको उल्लेख गरेका छन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नेपालसँग सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै त्यसमा पूर्ण समर्थन रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गर्दै दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ नेपाली सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेको छ। प्रतिनिधिमण्डलमा निकिता पौडेल, प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दिपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।














