डडेल्धुरा । भित्रिमधेश जोगबुडाको उर्वर फाँट दुई दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारहरूको आश्रयस्थल थियो । घना जंगल फाँडेर बनाइएका खेतबारी, मेहनतले उठाइएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रंगुन–पन्तुरा खोलाको कटानसँगै क्रमशः रित्तिँदै गएका छन ।
वर्षेनी आउने बाढीले खेतबारी मात्र नभई पुस्तौँको मेहनतले बनाएको घरसमेत बगाउन थालेपछि परशुराम नगरपालिका–६ र आसपासका बस्तीबाट पलायन हुनेको संख्या हरेक वर्ष बढिरहेको छ । विडम्बना दुई दशकको अवधिमा बाढी नियन्त्रणका नाममा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको सरकारी तथ्यांक भए पनि स्थानीयले सुरक्षित महसुस गर्न सकेका छैनन् ।
सरकारलाई कर त तिर्छौ, तर घर बगाउँदा पनि न्याय पाएका छैनौँ, ७० वर्ष नाघेका ठन्नझालाका बजिर साउदले गुनासो गरे, न पुनस्र्थापना भयो, न दिगो तटबन्ध बन्यो । अब हामी कहाँ जाने ?
२०३४–३५ सालतिर अछामबाट जोगबुडा झरेका साउदका अनुसार त्यतिबेला अहिलेको बस्ती क्षेत्रमा बाक्लो खैर र सिसौको जंगल थियो । सडक थिएन, बजार थिएन । सरकारले वन फँडानी र काठ संकलनको नीति लिएपछि विस्तारै जंगल मासियो र बसोबास बढ्दै गयो ।
एक जना आउँदा अर्काे आउँथ्यो, डाँडा काटेर खेत बनाइयो, उनी सम्झिुन्छन, तर २०६० सालपछि बाढीको स्वरूप बदलियो । खेत मात्रै होइन, बस्ती नै बग्न थाल्यो ।
उनका अनुसार पहिले जंगल र झाडीले बाढीको बहाव रोक्ने काम गथ्र्याे । अहिले नदी किनारका अधिकांश रुख कटान भइसकेका छन । फलस्वरूप खोलाको बहाव सीधै बस्तीमा ठोक्किन थालेको छ ।
टिकेन करोडौँको तटबन्ध
संघीय संरचना लागू भएपछि परशुराम नगरपालिकाको पहलमा २०७४ सालपछि सर्गाैडादेखि सिमलखेतसम्म ग्याबियन (तारजाली) तटबन्ध निर्माण गरियो । त्यसअघि पनि विभिन्न समयमा नदी नियन्त्रणका नाममा करोडौँ रुपैयाँ खर्च भइसकेको थियो ।
कुणा गाउँका रमेश पनेरुका अनुसार २०७४–७५ सालतिर मात्रै करिब २० किलोमिटर लामो तारजाली तटबन्ध निर्माण गरिएको थियो । त्यसपछि यी वस्तिहरुमा सिँचाइ कुलोसमेत बनाइयो ।
तर रंगुन र पन्तुरा खोलाले मुख्य तटबन्ध नै भत्काइदियो, उनले भने, अहिले तटबन्ध फुटिसकेको छ र बाढी फेरि खेतबारीमा पस्न थालेको छ । तटबन्ध निर्माणमा दीर्घकालीन योजना भन्दा टुक्रे बजेटको अभ्यास हाबी हुदा नदीको सम्पूर्ण बहाव अध्ययन नगरी बनाइएका संरचना पहिलो ठूलो बाढीमै क्षतिग्रस्त भएको उनको आरोप छ ।
सर्गाैडा, ठन्नझाला, सिमलखेत, कुणा र चंदनी क्षेत्रमा अहिले पनि बाढीको त्रास स्थायी समस्या बनेको छ । कतिपय परिवार सामुदायिक वन क्षेत्रमा सरेका छन् भने कतिपय अस्थायी रूपमा नदीको बगरमै खेती गर्दै आईरहेका छन ।
भारतमा कमाएको पैसाले डोजर लगाएर खेत बनायौँ, बजिर साउदले भने, तर फेरि खोलाले सबै बगायो । अब गाउँमा बस्ने आधार नै सकिँदै गएको छ । अहिले गाउँमा कोही पनि छैन । घरका सबै सदस्य भारत गएर मजदुरी गर्न बाध्य छन ।
उनका अनुसार पछिल्ला केही वर्षमा दर्जनौँ परिवार सुरक्षित स्थानतर्फ बसाइँ सरेका छन । विद्यालयमा विद्यार्थी संख्या घट्न थालेको छ भने खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।
चारैतिर नदीले घेरेको जोखिमपूर्ण भूगोल
परशुराम नगरपालिका–६ भौगोलिक रूपमा पनि उच्च जोखिममा रहेको क्षेत्र हो । पश्चिमतर्फ महाकाली नदी, दक्षिणतर्फ साँदनी खोला र उत्तर तर्फबाट रंगुन–पन्तुरा नदी प्रणालीले यस क्षेत्रलाई घेरेको छ । एकातर्फ चुरे पर्वत भए पनि दर्जनौँ खहरे खोलाहरू वर्षायाममा उग्र बन्छन ।
पनेरुका अनुसार खहरे खोलाभन्दा बढी क्षति रंगुन, पन्तुरा, महाकाली र साँदनीले पुर्याइरहेका छन । वर्षेनी कटान बढ्दै जाँदा खेतीयोग्य भूमि घटिरहेको छ र मानिसहरू सुरक्षित भविष्यको खोजीमा गाउँ छाड्न बाध्य भइरहेका छन ।












