धनगढी । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फका पाँच जना मन्त्री तथा राज्यमन्त्री परिवर्तन हुने भएका छन्।
शनिबार साँझ भएको सहमतिअनुसार तीन मन्त्री र दुई राज्यमन्त्रीलाई हटाएर नयाँ अनुहारलाई सरकारमा पठाइने तयारी गरिएको हो। नयाँ मन्त्रीहरूको आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेको कांग्रेस प्रदेशसभा सदस्य दिवानसिंह विष्ट ले बताएका छन्।
कांग्रेस संसदीय दलभित्र देखिएको विवाद समाधानका लागि उदयशम्शेर राणा र राजन केसी धनगढी पुगेपछि मुख्यमन्त्री शाहलाई यथावत् राख्ने र मन्त्रीहरू मात्र परिवर्तन गर्ने सहमति भएको हो।
सहमतिअनुसार विष्ट पक्षबाट पदमबहादुर शाही, मानबहादुर रावल र बेलबहादुर राना मन्त्री बन्ने चर्चामा छन्। मुख्यमन्त्री शाह पक्षबाट विक्रमसिंह धामी लाई आर्थिक मामिला मन्त्री बनाइने सम्भावना रहेको बताइएको छ।
राज्यमन्त्रीमा विष्ट पक्षबाट गीता चौधरी वा ललिता सुनार मध्ये एक जना तथा शाह पक्षबाट डम्मरी महरा रक्षा लाई जिम्मेवारी दिइने चर्चा छ।
हाल कांग्रेसबाट बहादुरसिंह थापा, मेघराज खड्का, शिवराज भट्ट, सरस्वती खड्का र प्रकाशबहादुर वम सरकारमा छन्।
कांग्रेसका १७ प्रदेशसभा सदस्यमध्ये नौ जनाले मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर बुझाएपछि दलभित्रको विवाद चर्किएको थियो। पछिल्लो सहमतिसँगै विवाद समाधानतर्फ उन्मुख भएको देखिएको छ।













