डडेल्धुरामा चौलो नाच र मौलिक संस्कृतिको संरक्षणबारे अन्तरक्रिया

Image

डडेल्धुरा । हाम्रो पहिचान, हाम्रो संस्कृति, मौलिक बाजा र चौलो नाचको संरक्षण गरौँ, भन्ने मूल नारासहित स्थानीय संस्कृति, मौलिक बाजाको जगेर्ना तथा प्रवर्द्धन र चौलो नाच संरक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार डडेल्धुरामा सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोग तथा गाउँघर मिडिया हाउस प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला सदरमुकाम खलंगास्थित क्याम्ब्रिज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा दाइन, दमाहा, झ्यालीसहित स्थानीय मौलिक बाजाको तालमा प्रस्तुत गरिएको प्रसिद्ध चौलो नाच मुख्य आकर्षण बनेको थियो। गन्यापधुरा–कैलपालमाण्डौ क्षेत्रमा प्रचलित चौलो नाचमा नाङ्गो तरबारसहितको साहसिक प्रस्तुति देखाइएको थियो।

त्यसैगरी क्याम्ब्रिज माविका विद्यार्थी कलाकारहरूले सुदूरपश्चिमको मौलिक लोक संस्कृती हुड्केली गीतमा आधारित सांस्कृतिक नृत्य प्रस्तुत गरी उपस्थित दर्शकको मन जितेका थिए।

कार्यक्रममा डोटेली संस्कृति विज्ञ तथा साहित्यकार कैलाश कुमार पाण्डेयले चौलो नाचको ऐतिहासिक महत्व, यसको सांस्कृतिक पहिचान तथा डोटेली लोकसंस्कृतिको संरक्षणका चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सामाविक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मिनबहादुर लामिछानेले चौलो नाच, हुड्केली गीत तथा स्थानीय मौलिक बाजाहरू सुदूरपश्चिमको सांस्कृतिक सम्पदा भएकाले तिनको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए। कार्यक्रमले स्थानीय संस्कृति संरक्षणप्रति युवापुस्ताको चासो बढाउन तथा लोपोन्मुख परम्पराको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।