काठमाडौँ । नेपालमा यस वर्षको मनसुन भित्रने निर्धारित समय आउन अब चार दिन मात्र बाँकी रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको केरला हुँदै अघि बढिरहेको र आगामी एक साताभित्र नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्ने सम्भावना रहेको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट विकसित मनसुनी प्रणाली जुन ४ मा भारतको केरला पुगेको छ। त्यहाँबाट नेपालसम्म आइपुग्न करिब १० दिन लाग्ने भएकाले मनसुन छिट्टै नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ। प्रारम्भिक चरणमा पूर्वी क्षेत्रमा मात्र प्रभाव देखिने र क्रमशः देशभर फैलिने सम्भावना रहेको उनले बताए।
मौसमविद्हरूले मनसुनको गति, प्रभाव र वर्षाको सम्भावित अवस्थाबारे निरन्तर अध्ययन गरिरहेका छन्। विभागले मनसुनको आगमन र यसले पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल तथा विश्लेषण जारी राखेको जनाएको छ।
नेपालमा वार्षिक कुल वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनकै समयमा हुने गर्दछ। मनसुनी वायु मुख्यतः बङ्गालको खाडी हुँदै भारतको पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने गर्छ भने अर्को प्रणाली अरब सागरबाट विकसित भई मध्य तथा पश्चिम नेपालमा वर्षा गराउन सहयोग पुर्याउँछ।
यता कृषि मौसमविद् रामेश्वर रिमालले भने मनसुन समयमै भित्रिने विषय अझै निश्चित नभएको बताए। किसानहरूले धानको ब्याड राखिसके पनि पर्याप्त वर्षा नहुँदा खेती प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्दै उनले सुक्खा र डुबान दुवै सहन सक्ने जातका धान लगाउन सुझाव दिइएको जानकारी दिए।
यसैबीच, विश्व मौसम सङ्गठन र दक्षिण एसियाली मनसुन फोरमले यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेका छन्। हाल तटस्थ अवस्थामा रहेको अलनिनो प्रणाली जुलाई–अगस्टसम्म बलियो हुन सक्ने र त्यसले नेपालको मनसुनी वर्षामा नकारात्मक प्रभाव पार्न सक्ने मौसमविद्हरूको आकलन छ।
विशेषज्ञहरूका अनुसार मनसुन कमजोर भए कृषि उत्पादन, खानेपानी, जलविद्युत् तथा जनजीवनमा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।













