डडेल्धुरामा दुग्ध र मासु उत्पादनले समातेको गति

Image

डडेल्धुरा । डडेल्धुरामा पशुपालन क्षेत्रमा पनि उत्साहजनक प्रगति देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सातवटै स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ ।

चार पालिकामा भैँसीपालन र तीन पालिकामा बाख्रापालन प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ । किसानलाई गोठ निर्माण र पशु खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ ।

भित्री मधेश क्षेत्रबाट वार्षिक ८२ हजार लिटर दूध कैलालीस्थित दुग्ध विकास संस्थानमा आपूर्ति भइरहेको छ । जिल्लामा वार्षिक दुई हजार १४७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ, जसको आधाभन्दा बढी बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाउँछ ।

कार्यालय प्रमुख डा. सुशिल ऐरीका अनुसार चालु आवमा पशु स्वास्थ्य सुरक्षाका लागि एक लाखभन्दा बढी बाख्रामा पीपीआर खोप, ५८ हजार गाईभैँसीमा खोरेतविरुद्धको खोप र चार हजारभन्दा बढी कुकुरमा रेविजविरुद्धको खोप लगाइएको छ ।