डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खेल, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न गाउँपालिकाको २०औँ वार्षिक अधिवेशनमा अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले निर्माणाधीन एरोडा खेलमैदानलाई जिल्लास्तरीय खेलमैदानका रूपमा विकास गरिने घोषणा गरे। मैदानमा प्याराफिट, घेरबार लगायत आवश्यक भौतिक संरचना निर्माण गरी ‘खेलग्राम’ अवधारणाअनुसार विकास गरिने नीति लिइएको छ।
पूर्वाधारतर्फ रडुवा–बडम–गाउँपालिका सडक कालोपत्रे गर्ने, सकायल–नवदुर्गा–गाउँपालिका, कोराल–गिल्ला–बेलापुर, गाउँपालिका–बेलापुर–सिरोड तथा गाउँपालिका–चमाचौड सडकलाई वर्षभर सञ्चालनयोग्य बनाउने कार्यक्रम समावेश गरिएको छ। कोराल–गिल्ला सडक खण्डको खोलामा पुल निर्माणको काम पनि अगाडि बढाइने जनाइएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि सबै विद्यालयमा स्मार्ट बोर्ड जडान तथा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने नीति लिइएको छ। साथै शैक्षिक सम्मेलन, अभिभावक–शिक्षक–विद्यार्थी अन्तरक्रिया तथा शैक्षिक बहसका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
कृषि क्षेत्रमा पालिकालाई तरकारी तथा आलु उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिनेछ भने युवा लक्षित ड्राइभिङ, कपाल कटिङ, च्याउ उत्पादनलगायत सीपमूलक तालिम तथा ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।















