डडेल्धुराका सात पालिकाको कुल बजेट ३७० करोड ९७ लाख रुपैयाँ

Image

डडेल्धुरा । डडेल्धुराका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटको कुल आकार ३ अर्ब ७० करोड ९७ लाख १८ हजार रुपैयाँ पुगेको छ। दुई नगरपालिका र पाँच गाउँपालिकाले सार्वजनिक गरेका बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन तथा युवा स्वरोजगारलाई साझा प्राथमिकताका रूपमा अघि सारिएको छ।

संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थानीय तहहरू आफ्ना नागरिकका आवश्यकताअनुसार विकासका योजना बनाउन थप सक्षम बन्दै गएको दाबी गरिरहेका बेला यस वर्षको बजेटले पनि अधिकांश पालिकामा कृषि, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको देखिन्छ। बजेटको आकारमा केही अन्तर भए पनि विकासका प्राथमिकता भने लगभग समान छन्।

जिल्लामध्ये सबैभन्दा ठूलो बजेट परशुराम नगरपालिकाले ल्याएको छ। नगरपालिकाले ७७ करोड १६ लाख ५१ हजार रुपैयाँ विनियोजन गर्दै कृषि आधुनिकीकरण, कोल्ड स्टोर निर्माण, ‘गाउँ–गाउँमा डाक्टर’ कार्यक्रम, अस्पताल सेवा विस्तार, छात्रवृत्ति तथा शिक्षाकर्मीहरूको पारिश्रमिक वृद्धिलाई प्राथमिकतामा राखेको छ।

अमरगढी नगरपालिकाले ५१ करोड ४७ लाख ६१ हजार रुपैयाँको बजेटमार्फत कृषि उत्पादन वृद्धि, सहरी पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासमा जोड दिएको छ।

भागेश्वर गाउँपालिकाले ५० करोड २० लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि, सामाजिक विकास र पूर्वाधार निर्माणलाई निरन्तरता दिएको जनाएको छ।

आलिताल गाउँपालिकाले ४९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको बजेटमार्फत कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादनमा आधारित आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ।

अजयमेरु गाउँपालिकाले ४९ करोड ५ लाख ७२ हजार रुपैयाँको बजेट ल्याउँदै कृषि उत्पादन वृद्धि, ग्रामीण सडक, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको छ।

गन्यापधुरा गाउँपालिकाले ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेको छ।

नवदुर्गा गाउँपालिकाले ४३ करोड ९४ लाख ७५ हजार रुपैयाँको बजेट ल्याउँदै कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ग्रामीण पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।

यस वर्षको बजेट हेर्दा सातै स्थानीय तहले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मौज्दात रकमलाई मुख्य आयस्रोत बनाएका छन्। अधिकांश बजेट उत्पादनमुखी कृषि, रोजगार सिर्जना, आधारभूत सेवा सुधार र पूर्वाधार विस्तारमा केन्द्रित देखिन्छ।

यद्यपि, बजेटको सफलताको वास्तविक मापन यसको आकारले होइन, कार्यान्वयनको प्रभावकारिताले गर्नेछ। विगतका वर्षमा धेरै योजना बजेटमै सीमित भएको आलोचना भइरहेका बेला यस वर्ष सार्वजनिक भएका कार्यक्रम समयमै कार्यान्वयन हुन सके डडेल्धुराको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।