कालीकोट । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि वर्षौँदेखि काम नगरी अलपत्र पारेका १६ वटा रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कालीकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्कामा निर्माण व्यवसायीले सम्झौताअनुसार काम सम्पन्न नगरेकाले ठेक्का अन्त्य गर्न १५ दिने सूचना प्रकाशित गरेको हो।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार रद्द प्रक्रियामा परेका ठेक्कामध्ये कालीकोटका १२, जुम्लाका तीन र मुगुका एक वटा छन्। यी ठेक्काहरू आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म विभिन्न समयमा सम्झौता गरिएका थिए।
उनले कार्यालयअन्तर्गतका जिल्लामा लामो समयदेखि अलपत्र रहेका रुग्ण ठेक्काको समस्या समाधान गर्न ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको बताए।
ठेक्का लिएर काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न कार्यालयले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराका अनुसार विभिन्न समयमा लिखित तथा मौखिक रूपमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दासमेत सम्बन्धित निर्माण व्यवसायीले कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो।
उनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) तथा सम्झौतामा भएको व्यवस्थाअनुसार निर्माण कार्य सम्पन्न हुने अवस्था नदेखिएकाले दफा ५९ (७) बमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
रद्द प्रक्रियामा परेका ठेक्कामध्ये सेरी–पन्ताडी क्षेत्रमा बेली ब्रिज निर्माण तथा जडान, कर्णाली राजमार्गका विभिन्न खण्डको मर्मतसम्भार, सिम्ले खोला, खाल्लाघाट र चिदेना खोलाका पुल संरक्षण, नाग्मा–जुम्ला सडक कालोपत्रे तथा दहीखोला–मान्मा–नाग्मा र दहीखोला–शेरीघाट सडक कालोपत्रेलगायतका आयोजना छन्।
यी आयोजनाको जिम्मा हिमाली निर्माण सेवा, जुम्ला, एम.के.–अमित जेभी, कर्णाली कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ, कालीकोट, नारायण निर्माण सेवा, जुम्ला तथा एम.के.–अमित आर.एनबी. जेभीलगायत निर्माण कम्पनीले लिएका थिए। कार्यालयका अनुसार ठेक्का रद्द प्रक्रिया पूरा भएपछि पुनः बोलपत्र आह्वान गरी निर्माण कार्य अगाडि बढाइने योजना रहेको छ।












