डडेल्धुरा । समयसँगै गाउँका परम्परागत ढुंगेघरहरू कंक्रिटका आधुनिक भवनमा रूपान्तरण हुँदै गएका छन । पुस्तौँदेखि स्थानीय पहिचान बोकेका मौलिक घरहरू एकपछि अर्काे गर्दै हराइरहेका बेला डडेल्धुराको भागेश्वर गाउँपालिका–४, डुङरी गाउँमा रहेको स्वर्गीय एनडी प्रकाश चटौत (नारायणीदत्त)को पुख्र्याैली ढुंगेघर भने अझै पनि इतिहास, संस्कृति र मौलिक वास्तुकलाको जीवित साक्षी बनेर उभिएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक, प्रखर लेखक तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व एनडी प्रकाश चटौतको यो घर हेर्दा कुनै राजाको दरबारभन्दा कम देखिँदैन । परम्परागत प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले ढुंगेघर आफ्नो कलात्मक बनावट, विशाल आकार र आकर्षक संरचनाका कारण जो कोहीको ध्यान खिच्न सफल हुन्छ ।
अंग्रेजी अक्षर एल आकारमा बनेको यो घरको विशेषता यसको मौलिक निर्माण शैली हो । घरको छानो ढुंगाकै स्लेटले छाइएको छ भने विशाल ढोका, कलात्मक झ्याल, बाक्ला ढुंगाका पर्खाल र बाहिरी भागमा देखिने ढुंगाको बुट्टेदार शिल्पले तत्कालीन निर्माणकला कति विकसित थियो भन्ने स्पष्ट पार्छ । आधुनिक प्रविधिबिनै स्थानीय सीप र स्रोतको प्रयोग गरेर निर्माण गरिएको यो घर आज पनि मजबुत अवस्थामा रहेको छ ।
करिब छ वर्षअघि चटौत परिवारले घरको पुनर्निर्माण गर्दा आधुनिक डिजाइनभन्दा पनि पुर्खाले छाडेको मौलिक स्वरूपलाई प्राथमिकता दिएको थियो । पुनर्निर्माणका क्रममा पुरानै शैली, संरचना र वास्तुकलालाई जोगाउने प्रयास गरिएकाले अहिले पनि घरले आफ्नो ऐतिहासिक पहिचान कायम राखेको छ ।
हाल यस घरको संरक्षण र नियमित हेरचाह एक जना स्थानीयले गरिरहेका छन । उनको निरन्तर प्रयासले घर जीर्ण हुनबाट जोगिएको छ । गाउँपालिका अध्यक्ष हेमराज चटौतका अनुसार यस घरले गाउँको इतिहास, संस्कृति र सामाजिक पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने माध्यमको भूमिका निर्वाह गरिरहेको छ ।
डडेल्धुरा र सुदूरपश्चिमका धेरै गाउँमा ढुंगेघरहरू भत्काएर सिमेन्टका पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको छ । यसले स्थानीय वास्तुकला, निर्माण प्रविधि र सांस्कृतिक पहिचान क्रमशः हराउँदै गएको चिन्ता पनि बढाएको छ । यस्ता अवस्थामा एनडी प्रकाश चटौतको ढुंगेघर मौलिक सम्पदा संरक्षणको उत्कृष्ट उदाहरण बनेको छ ।
यो घर केवल एउटा निजी आवास होइन, डडेल्धुराको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक स्मृतिसँग जोडिएको धरोहर हो । उनले भने, यहाँ आउने जो कोहीले स्थानीय वास्तुकलाको सौन्दर्यसँगै इतिहासको अनुभूति गर्न सक्छनभ । उचित संरक्षण, सरकारी पहल र पर्यटकीय प्रवद्र्धन गर्न सके यो घर सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।
नेपालका ग्रामीण बस्तीमा मौलिक घरहरू हराउँदै गइरहेका बेला भागेश्वरको यो ढुंगेघरले एउटा सन्देश दिइरहेको छ, विकास भनेको केवल नयाँ संरचना निर्माण गर्नु मात्र होइन, आफ्ना पुर्खाले छाडेका मौलिक सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्नु पनि एको उनको भनाई छ । यही कारण एनडी प्रकाश चटौतको यो ऐतिहासिक ढुंगेघर आज डडेल्धुराको गौरव, इतिहास र पहिचानको अमूल्य धरोहर बनेर उभिएको छ ।
एनडी प्रकाश चटौत नेपाली राजनीतिका प्रारम्भिक लोकतान्त्रिक अभियन्तामध्ये एक मानिन्छन । उनले लोकतान्त्रिक आन्दोलन, सामाजिक जागरण र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको थियो । २६ वर्षको उमेरमै नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य बनेर वीपि निकत भई देशभर संगठन विस्तार गररहनु भएका चटौतको जन्म विस १०८७ मंसिर ७ गते जन्म भएको थियो । उनको निधन पार्टीको कामकै सिलसिलामा सिमराबाट काठमाडौं जाने क्रममा विस २०१४ साल चैत ११ गते हवाई दुर्घटनामा परेर २७ वर्षकै उमेरमा भएको थियो ।
शासन बेसै छ भनि भन्छौ, यो प्राप्ति कहिले देखेका छौ, उनको चर्चित पंक्ति मध्ये एक हो । यी पंक्तिले तत्कालीन शासन व्यवस्थाप्रतिको उनको आलोचनात्मक चेतना र परिवर्तनको आकांक्षा झल्काउछ ।
यस कारण यो घर एउटा व्यक्तिको निवास मात्र नभई सुदूरपश्चिमको राजनीतिक चेतनाको स्मृतिसँग पनि जोडिएको छ । स्थानीय बुढापाकाका अनुसार विभिन्न समयमा राजनीतिक तथा सामाजिक छलफलका लागि धेरै व्यक्तित्वहरू यही घरमा भेला हुने गर्थे । यस अर्थमा यो घरले डडेल्धुराको राजनीतिक इतिहास पनि आफ्नो भित्ताभित्र सुरक्षित राखेको छ ।
सुदूरपश्चिममा प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पनि ठूलो सम्भावना छ । उचित संरक्षण, सूचना बोर्ड, ऐतिहासिक विवरण, पहुँचमार्गको सुधार र प्रवद्र्धन गर्न सके एनडी प्रकाश चटौतको पुख्र्याैली घर सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।
इतिहास, वास्तुकला, साहित्य र राजनीतिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो घर अध्ययन र अवलोकनको महत्वपूर्ण केन्द्र बन्ने सम्भावना छ ।्
नेपालका ग्रामीण बस्तीमा मौलिक वास्तुकलाका घरहरू तीव्र रूपमा हराइरहेको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले बताए । यस्ता सम्पदा एकपटक नष्ट भएपछि फेरि पुरानै स्वरूपमा फर्काउन कठिन हुन्छ । उहाँले भन्नुभयो, त्यसैले यस्ता ऐतिहासिक संरचनाको संरक्षणमा स्थानीय तह, प्रदेश सरकार, पुरातत्व तथा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ ।
एनडी प्रकाश चटौतको ढुंगेघर एउटा निजी घर मात्र नभई यो इतिहास, संस्कृति, वास्तुकला र लोकतान्त्रिक आन्दोलनको स्मृति बोकेको धरोहर भएको उहाँको भनाई छ । यसलाई जोगाउनु भनेको केवल एउटा भवन बचाउनु होइन । उहाँले भन्नुभयो, डडेल्धुराको पहिचान, पुर्खाको सीप र भावी पुस्ताका लागि इतिहास सुरक्षित गर्नु पनि हो । विभिन्न योजनाको अनुगमनका क्रमम विकट वस्तिहरुमा मौलिकता झल्किने घर, संरचनाहरु देख्न पाईने गरेको उनले बताए ।















