डडेल्धुरा। विकास निर्माणका योजना सम्पन्न भएपछि तिनको गुणस्तर, पारदर्शिता र प्रभावकारिताको मूल्याङ्कन गर्न गरिएको तेस्रो पक्षीय अनुगमनले भागेश्वर गाउँपालिकाका केही सकारात्मक पक्षसँगै सुधार गर्नुपर्ने महत्वपूर्ण कमजोरी पनि औँल्याएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका योजनाको जिल्ला समन्वय समिति डडेल्धुराको टोलीले स्थलगत अनुगमन गरेको हो। टोलीको नेतृत्व जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारीले गरेका थिए। टोलीमा प्रमुख जिल्ला अधिकारी अम्बर ओली, जिल्ला समन्वय समिति सदस्य सञ्जय जैरु, जिल्ला समन्वय समिति तथा गाउँपालिकाका इन्जिनियर र प्राविधिक कर्मचारी सहभागी थिए।

पाँचवटा वडा रहेको गाउँपालिकाबाट प्रत्येक वडाका दुई/दुई गरी १० वटा योजनाको स्थलगत निरीक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले बताए।
अनुगमन गरिएका योजनामा वडा नं. १ को प्रतीक्षालय र लाटादेउ गौरा घर, वडा नं. २ को पाण्डेय गाउँ पुलसम्म सडक तथा असिग्राम माध्यमिक विद्यालयको पर्खाल, वडा नं. ३ को लामिकाँडेस्थित बेताल मन्दिरको पर्खाल र बोगटा खेलमैदान, वडा नं. ४ को भुवनेश्वरी भगवती मन्दिर तथा बगरकोट ताल संरक्षण, र वडा नं. ५ को सिराडीगाड पुल तथा हंसवाहिनी आधारभूत विद्यालय बुर्षको शौचालय निर्माण योजना रहेका छन्।
अनुगमनपछि जिल्ला समन्वय समिति प्रमुख भण्डारीले अधिकांश योजनामा विनियोजित लागतअनुसार निर्माण कार्य सम्पन्न भएको बताए। तर, विकास निर्माणमा गुणस्तरका साथै पारदर्शिता र समावेशिताका आधारभूत मापदण्ड भने पूर्ण रूपमा पालना नभएको उनको भनाइ छ।
उनका अनुसार अनुगमन गरिएका कुनै पनि योजनामा सूचना पाटी राखिएको भेटिएन। सार्वजनिक लगानीबाट निर्माण गरिएका योजनामा लागत, निर्माण अवधि, उपभोक्ता समिति र प्राविधिक विवरण खुल्ने सूचना पाटी अनिवार्य मानिए पनि त्यसको पालना भएको देखिएन।
त्यसैगरी सार्वजनिक प्रयोगका लागि निर्माण गरिएका प्रतीक्षालय र शौचालय अपाङ्गमैत्री तथा बालमैत्री मापदण्डअनुसार निर्माण नगरिएको पनि टोलीले औँल्याएको छ। यसले सार्वजनिक पूर्वाधार निर्माणमा समावेशी पहुँच सुनिश्चित गर्ने विषय अझै प्राथमिकतामा नपरेको संकेत गरेको छ।
अनुगमन टोलीले देखिएका सबै कमजोरी तत्काल सुधार गर्न गाउँपालिकालाई निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत ओझाले अनुगमनका क्रममा प्राप्त सुझाव र निर्देशन कार्यान्वयन गर्दै आवश्यक सुधार गरिने बताए।
स्थानीय तहमा हुने यस्ता तेस्रो पक्षीय अनुगमनले विकास योजनाको गुणस्तर अभिवृद्धि, सार्वजनिक खर्चको प्रभावकारी उपयोग र जवाफदेहितालाई मजबुत बनाउने विश्वास गरिएको छ। भागेश्वर गाउँपालिकाको पछिल्लो अनुगमनले पनि विकास भनेको बजेट खर्च गर्नु मात्र नभई गुणस्तर, पारदर्शिता र सबै नागरिकका लागि सहज पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएको छ।













