डडेल्धुराको दुर्गम राजुलमा ‘एक घर, एक धारा’ अभियान सफल, ३१ धारा निर्माणपछि स्थानीयलाई राहत

Image

अजयमेरु गाउँपालिका–६ का तीन गाउँमा ३० लाखको खानेपानी योजना सम्पन्न, वर्षौंदेखिको पानी अभाव हट्दै

डडेल्धुरा। अजयमेरु गाउँपालिका–६ अन्तर्गतको दुर्गम राजुल क्षेत्रमा सञ्चालन गरिएको ‘एक घर, एक धारा’ अभियान सफल भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको खानेपानी योजनाअन्तर्गत ३१ वटा धारा निर्माण भएपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई ठूलो राहत पुगेको छ।

बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिकाको सीमासँग जोडिएको राजुलका भण्डारी गाउँ, न्वाली गाउँ र पुडिल गाउँमा घरघरमा धारा पुगेपछि स्थानीयको दैनिक जीवन सहज बनेको छ।

वडा अध्यक्ष हरि भण्डारीका अनुसार राजुल क्षेत्रमा पर्याप्त खानेपानीका मुहान छैनन्। उपलब्ध मुहानको संरक्षण गर्दै क्रमागत योजनामार्फत पहिलो चरणमा तीनवटै गाउँमा घरघरमा धारा निर्माण गरिएको हो। यसअघि पनि राजुलका करिब ४० घरधुरीमा धारा जडान गरिसकिएको उनले जानकारी दिए ।

वडा कार्यालय, माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, आयुर्वेद आरोग्य केन्द्र र सानो बजार रहेको राजुलमा केही मात्रामा खानेपानीको सुविधा भए पनि अन्य बस्तीमा पानीको चरम अभाव थियो। त्यसैले बढी समस्या भएका गाउँलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिएको वडा अध्यक्ष भण्डारीले बताए।

उनका अनुसार योजना सम्पन्न भएपछि महिलाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हट्दै गएको छ। घरमै धारा पुगेपछि सरसफाइमा सुधार हुनुका साथै समय र श्रमको समेत बचत भएको स्थानीयको अनुभव छ।

३० लाखको लागतमा ३१ धारा निर्माण

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डडेल्धुराका प्राविधिक पुष्प भट्टका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ३० लाख रुपैयाँको लागतमा योजना सम्पन्न गरिएको हो।

उनका अनुसार स्किम नं. २ र ५ अन्तर्गत माथिल्लो टोलमा दुई–दुई घनमिटर क्षमताका दुईवटा ट्यांकी, पाँचवटा इन्टेक तथा पाँचवटा धारा निर्माण गरिएको छ। तल्लो टोलमा चार घनमिटर क्षमताको ट्यांकी, १० वटा धारा, शाखा लाइन तथा इन्टेक निर्माण गरिएको छ। अर्को टोलमा १० घनमिटर क्षमताको ट्यांकीसहित बाँकी धारा निर्माण गरी नियमित रूपमा खानेपानी वितरण सुरु गरिएको उनले बताए।

घरमै स्वच्छ खानेपानी उपलब्ध हुन थालेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। दैनिक उपभोगका साथै सरसफाइ र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीयको छ। दुर्गम बस्तीमा आधारभूत सेवा विस्तारतर्फ यो योजना महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।