डडेल्धुरा । डडेल्धुरा जिल्लामा मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले मातृ, नवजात, बाल स्वास्थ्य तथा पोषण सुधार (MNCH) कार्यक्रमको जिल्ला स्तरीय शुभारम्भ तथा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।
संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा EpiC Nepal, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (RUWDUC) को साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा कार्यान्वयन गरिने भएको हो ।
डडेल्धुरा सदरमुकाममा आयोजित कार्यशालामा जिल्ला समन्वय समिति, स्थानीय तह, स्वास्थ्य संस्था, सरकारी कार्यालय, विकास साझेदार तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मातृ स्वास्थ्यदेखि नवजात शिशु, पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा पोषण सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिने जानकारी दिइयो ।
कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, नवजात शिशुको जीवनरक्षक सेवा सुदृढ गर्ने, बालबालिकामा हुने कुपोषण न्यूनीकरण गर्ने तथा स्वास्थ्य संस्थामा आवश्यक उपकरण र सामग्रीको उपलब्धता बढाउने लक्ष्य लिइएको छ । साथै स्वास्थ्य आपतकालीन अवस्थामासमेत सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि र खरिद तथा आपूर्ति व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओली, अमरगढी नगरपालिकाकी उपप्रमुख, सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख, डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट, नेपाल पत्रकार महासंघ डडेल्धुरा, गैसस महासंघ, सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य संकायका प्राध्यापक तथा सातवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीले कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन, बालबालिकामा हुने कुपोषण न्यूनीकरण गर्न र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रभावकारी अनुगमन तथा मूल्याङ्कनमा जिल्ला समन्वय समितिको पूर्ण सहयोग रहने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले मातृ, नवजात तथा बाल स्वास्थ्य क्षेत्रमा अझै चुनौती कायम रहेकाले कार्यक्रम सफल बनाउन सरकारी निकायबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले मातृ, नवजात तथा बाल स्वास्थ्य र पोषण सुधार कार्यक्रमले जिल्लाको समग्र स्वास्थ्य सूचकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमको प्राविधिक सत्रमा जिल्ला स्वास्थ्य कार्यालयले डडेल्धुराको समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुति दिँदै मातृ तथा नवजात शिशु मृत्यु दर अझै चुनौतीपूर्ण रहेकाले थप प्रभावकारी हस्तक्षेप आवश्यक रहेको औँल्याएको थियो। त्यसैगरी EpiC Nepal का प्रतिनिधिले कार्यक्रमको उद्देश्य, स्वास्थ्य सामग्री तथा उपकरणमा गरिने सहयोग तथा स्थानीय तहमा सञ्चालन हुने गतिविधिबारे जानकारी गराएका थिए।
स्थानीय साझेदार संस्था RUWDUC का कार्यकारी निर्देशक अमर साउदका अनुसार आगामी दिनमा स्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायसँगको सहकार्यमा जिल्लाका सातवटै स्थानीय तहमा मातृ, नवजात तथा बाल स्वास्थ्य र पोषण सुधारका विविध कार्यक्रम सञ्चालन गरिनेछन् ।












