आइन्स्टाइन पब्लिक स्कुलमा स्मार्ट ई–हाजिरी, विद्यार्थी प्रवेश गर्नासाथ अभिभावकलाई सूचना

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलंगास्थित आइन्स्टाइन पब्लिक स्कुलले विद्यार्थीको उपस्थिति व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै स्मार्ट ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ । विद्यालयमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीको हाजिरी हुने र सोही समयमा अभिभावकको मोबाइलमा विद्यार्थी विद्यालय प्रवेश गरेको सूचना जाने प्रविधिसहितको स्मार्ट ई–हाजिरी प्रणाली जडान गरिएको हो ।

विद्यालयले मन्टेस्वरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई क्युआर कोडसहितको परिचयपत्र उपलब्ध गराएको छ । विद्यार्थीले विद्यालयको प्रवेशद्वारमा जडान गरिएको ई–हाजिरी मेसिनमा आफ्नो परिचयपत्रमा रहेको क्युआर कोड देखाएपछि तत्कालै हाजिरी हुने व्यवस्था गरिएको विद्यालय सञ्चालक तथा भाइस प्रिन्सिपल केशब सिंह धामीले बताए ।

उनका अनुसार विद्यार्थी विद्यालय प्रवेश गर्नेबित्तिकै हाजिरी रेकर्ड हुनुका साथै सम्बन्धित अभिभावकको मोबाइलमा विद्यार्थी विद्यालय आएको सूचना स्वतः पुग्छ । ‘विद्यार्थी गेटमा प्रवेश गर्नेबित्तिकै हाजिरी हुन्छ र अभिभावकलाई पनि नोटिस जान्छ,’ धामीले भने, ‘विद्यार्थी विद्यालयबाट बाहिरिँदा पनि त्यसैगरी अभिभावकलाई सूचना जाने व्यवस्था गरिएको छ ।’

स्मार्ट ई–हाजिरी प्रणालीले विद्यार्थी विद्यालयमा उपस्थित भए वा नभएको विषयमा अभिभावकलाई प्रत्यक्ष जानकारी लिन सहज बनाएको विद्यालयको भनाइ छ । यसबाट विद्यार्थीको नियमित उपस्थितिको अनुगमन गर्न तथा विद्यालय र अभिभावकबीच सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परम्परागत रूपमा कक्षाकोठामा शिक्षकले हाजिरी लिने प्रणालीको विकल्पका रूपमा विद्यालयले प्रविधिको प्रयोग गरेको हो । गेटमै हाजिरी हुने भएकाले विद्यार्थी विद्यालय प्रवेश गरेको र बाहिरिएको समयसमेत अभिलेखमा रहने विद्यालयले जनाएको छ । विद्यालयले प्रविधिको प्रयोगमार्फत विद्यार्थीको सुरक्षा, नियमित उपस्थिति र अभिभावकसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।