काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि आज स्वदेश फर्किंदै छन। देउवा बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए।
स्वदेश फर्किन लागेका देउवालाई नेपाली कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिनेछ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि देउवा गत १३ फागुनको राति सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि थप उपचारका लागि उनी गत ७ चैतमा हङकङ पुगेका थिए।
लामो समय विदेशमा उपचार गराएर स्वदेश फर्किन लागेका देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ। तीन दिनसम्म सञ्चालन हुने भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
देउवाको स्वदेश फिर्ती र त्यसलगत्तै आयोजना हुन लागेको संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।













