डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पर्व ओल्केको पूर्वसन्ध्यामा डडेल्धुरामा ‘ओल्के हेरिटेज राइड २०८३’ आयोजना गरिएको छ। मौलिक लोकपरम्परा र संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा प्रवर्द्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको हो।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजारबाट सुरु भएको साइकल यात्रा ऐतिहासिंक अमरगढी किल्ला हुदै अमरगढी–८ स्थित सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरसम्म पुगेर पुनः बागबजारमै फर्किएको थियो।
फारवेस्टर्न राइडर्सको आयोजना तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा आयोजित राइडमा डडेल्धुराका विभिन्न क्षेत्रका साइकल राइडर सहभागी भएका थिए।
शनिबार बिहान ७ बजे सुदूरपश्चिमका विभिन्न स्थानबाट एकैसाथ ‘ओल्के हेरिटेज राइड २०८३’ सुरु गरिएको थियो। आयोजक भरतविक्रम शाहका अनुसार धनगढी, अत्तरिया, महेन्द्रनगर, बेलौरी, पुनर्वास, बर्दगोरिया र डडेल्धुराबाट एकै समयमा साइकल यात्रा गरिएको हो।
राइडले साइकल यात्रामार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृति, ऐतिहासिक तथा धार्मिक सम्पदा, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
राइडमा सहभागी डडेल्धुराका मोहन देउवाले ओल्के जस्ता मौलिक पर्वलाई नयाँ पुस्तासँग जोड्दै आधुनिक माध्यमबाट यसको प्रचार–प्रसार गर्नु कार्यक्रमको विशेष उद्देश्य रहेको बताए।
‘हाम्रो मौलिक संस्कृति र पर्वलाई केवल परम्परागत रूपमा मनाउने मात्र नभई नयाँ पुस्ताले बुझ्ने र अपनाउने वातावरण बनाउन आवश्यक छ,’ उनले भने, ‘साइकल राइडमार्फत स्वास्थ्यसँगै संस्कृति र सम्पदाको संरक्षणको सन्देश दिन खोजिएको हो।’
यस वर्षको ओल्के हेरिटेज राइडलाई स्वास्थ्यसँग समेत जोडिएको छ। सहकार्यमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले राइडमा सहभागी साइकल राइडर तथा उनीहरूका परिवारका सदस्यलाई अस्पतालमा उपलब्ध स्वास्थ्य तथा उपचार सेवामा विशेष छुट दिने व्यवस्था गरेको आयोजक शाहले बताए।
उनका अनुसार ओल्के हेरिटेज राइडमा सहभागी राइडर तथा उनीहरूका परिवारका सदस्यले निसर्ग अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य तथा उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
ओल्केः सुदूरपश्चिमको मौलिक पर्व
सुदूरपश्चिममा प्रत्येक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने परम्परा छ। यस पर्वलाई सुदूरपश्चिमको विशिष्ट मौलिक लोकपर्वका रूपमा लिइन्छ। ओल्केको सांस्कृतिक महत्वबारे डोटेली संस्कृतिविद् कैलाशकुमार पाण्डेयका अनुसार भदौ १ गते ओल्के मनाउने र त्यससँग जोडिएका विभिन्न परम्परा तथा सांस्कृतिक अभ्यास सुदूरपश्चिमको सामाजिक जीवनसँग गहिरोसँग जोडिएका छन्।
ओल्के पर्वमा एकअर्कालाई ओल्को अर्थात् उपहार तथा कोसेली दिने, आफन्तजनबीच भेटघाट गर्ने र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने परम्परा रहेको पाइन्छ। यसले समुदायबीच आपसी सद्भाव र आत्मीयता बढाउने सांस्कृतिक भूमिका निर्वाह गर्दै आएको छ।
ओल्केपछि आउने भदौ महिनासँग जोडिएका विभिन्न मौलिक सांस्कृतिक गतिविधिले सुदूरपश्चिमको ग्रामीण जीवन, कृषि संस्कार र सामाजिक सम्बन्धलाई समेत प्रतिबिम्बित गर्छन्।
परम्परागत पर्वलाई आधुनिक पुस्तासँग जोड्ने उद्देश्यले आयोजना गरिएको ओल्के हेरिटेज राइडले संस्कृति संरक्षणसँगै पर्यटन, स्वास्थ्य र वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरेको आयोजकको भनाइ छ।
साइकलमा उग्रतारा मन्दिरसम्म गरिएको यात्राले धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले आगामी वर्षहरूमा ओल्के हेरिटेज राइडलाई थप व्यवस्थित र व्यापक बनाउँदै सुदूरपश्चिमका अन्य मौलिक संस्कृति तथा सम्पदासँग जोड्ने लक्ष्य लिएको जनाएको छ।












