डडेल्धुरा । परशुराम नगरपालिकाका साना किसानलाई वातावरणमैत्री कृषि प्रणालीतर्फ आकर्षित गर्दै कृषक समूहलाई थप व्यवस्थित र अधिकारमुखी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको छ। परशुराम नगरपालिका–१, ५, ६ र १२ मा रहेका चारवटा साना किसान समूहका पदाधिकारी, सदस्य तथा स्थानीय किसानको सहभागितामा कृषक समूह सुदृढीकरण तथा वातावरणमैत्री कृषि प्रणालीसम्बन्धी तालिम सञ्चालन गरिएको हो।
आइतबार परशुराम नगरपालिका–५ बिसलपुरस्थित महाकाली साना किसान समूहकी अध्यक्ष दुर्गा देउवाको अध्यक्षतामा वातावरणमैत्री कृषि प्रणालीसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा समूहका पदाधिकारी, साधारण सदस्य तथा स्थानीय किसानको सहभागिता रहेको थियो।
तालिममा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति, वातावरण र मानव स्वास्थ्यमा पार्ने असरबारे किसानलाई जानकारी गराइएको थियो। त्यससँगै जैविक मल तथा जैविक विषादीको प्रयोग, स्थानीय स्रोत–साधनको उपयोग, वातावरणमैत्री कृषि प्रणालीको महत्व र रैथाने बीउबिजन संरक्षणका विषयमा सहजीकरण गरिएको थियो।
कृषि उत्पादन बढाउने नाममा रासायनिक पदार्थको बढ्दो प्रयोगले दीर्घकालीन रूपमा माटोको गुणस्तरमा असर पार्न सक्ने भएकाले स्थानीय स्रोतमा आधारित दिगो कृषि प्रणाली अपनाउन किसानलाई प्रेरित गरिएको आयोजकले जनाएको छ।
तालिममा वातावरणमैत्री कृषिसँगै साना किसान समूहलाई व्यवस्थित, सक्रिय र आत्मनिर्भर बनाउने विषयमा समेत प्रशिक्षण दिइएको थियो। नियमित बैठक सञ्चालन, आन्तरिक बचत, ऋण परिचालन, सदस्यको भूमिका तथा जिम्मेवारी र नेतृत्व विकासका विषयमा सहभागीलाई अभिमुखीकरण गरिएको थियो।
बिसलपुर निगरानी समूहकी अध्यक्ष मायादेवी शिलालका अनुसार समूहको आवश्यकता पहिचान गरी सदस्यको भूमिका र जिम्मेवारी स्पष्ट पार्ने तथा सामूहिक रूपमा आर्थिक गतिविधि सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो। तालिममा महिला तथा किसान सदस्यको सक्रिय सहभागिता रहेको थियो।
बहुउद्देश्यीय विकास समाज (एमडीएस) डडेल्धुरा र एक्सनएड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम–४८ अन्तर्गत परशुराम नगरपालिकाका लक्षित समुदायमा विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्।
कार्यक्रमअन्तर्गत महिला, साना किसान, युवा तथा मजदुरलाई हक–अधिकारसम्बन्धी अभिमुखीकरणसँगै गरिबी न्यूनीकरणका लागि आयआर्जन तथा स्वरोजगारका गतिविधिमा जोड्ने काम भइरहेको एमडीएस डडेल्धुराले जनाएको छ। चालु आर्थिक वर्षमा लक्षित समुदायका चार जनालाई स्वरोजगार बनाउने उद्देश्यले तीन महिला र एक युवालाई ठेला व्यवसाय तथा दुई जनालाई आरन व्यवसाय सञ्चालनका लागि नगद सहयोग गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी, परशुराम नगरपालिकाका तीनवटा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न अनुदान सहयोगसमेत प्रदान गरिएको छ। स्थानीय अधिकार कार्यक्रमअन्तर्गत परशुराम नगरपालिकाका लक्षित समुदायमा रहेका चारवटा साना किसान समूहलाई यस्तै प्रकृतिका थप तालिम प्रदान गरिने परियोजना संयोजक धनबहादुर भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालय सुरक्षा योजना निर्माण तथा बालबालिकालाई विपद्बाट सुरक्षित राख्नेसम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ। तालिमको समापनमा सहभागी किसानले आगामी दिनमा रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक तथा वातावरणमैत्री कृषि प्रणालीलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, साना किसान समूहलाई थप व्यवस्थित, सक्रिय र आत्मनिर्भर बनाउँदै सामूहिक बचत, ऋण परिचालन तथा नेतृत्व विकासका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि सहभागीले व्यक्त गरेका छन्।
किसानलाई उत्पादनसँगै माटो, वातावरण र स्वास्थ्य जोगाउने कृषि प्रणालीतर्फ लैजान खोजिएको यो पहलले परशुराममा साना किसान समूहको संस्थागत क्षमता र आयआर्जन दुवै बलियो बनाउने अपेक्षा गरिएको छ।















