
डडेल्धुरा । चुरे पर्वत शृङ्खलाको काखमा रहेको परशुराम नगरपालिका–७ मलासमा एउटा अनौठो पानीको मुहान छ । स्थानीयवासीले यसलाई ‘भीमकुण्ड’ नामले चिन्ने गरेका छन् । सामान्य आँखाले हेर्दा पानीको मुहानजस्तो देखिए पनि यससँग जोडिएको पौराणिक कथा र स्थानीय जनश्रुतिले यस स्थललाई थप रोचक बनाएको छ ।
कञ्चनपुरको महेन्द्रनगर बजारबाट उत्तरतर्फ चुरे क्षेत्रतिर अघि बढेपछि पुगिने मलास क्षेत्रमा रहेको उक्त पानीको मुहान घुँडाको आकृतिजस्तै देखिन्छ । यही आकृतिलाई आधार बनाएर स्थानीयवासीले महाभारतकालीन पाण्डवपुत्र भीमसँग यसको सम्बन्ध जोड्दै आएका छन् ।
स्थानीय जनश्रुतिअनुसार महाभारतकालमा भीम यस क्षेत्रमा आइपुग्दा तिर्खाएका थिए । पानीको खोजीमा रहेका भीमले घुँडा टेकेर यहाँको पानी पिएको र घुँडाको दबाबबाट जमिनमा पानीको मुहान बनेको विश्वास गरिन्छ । त्यही कारण यस स्थानलाई कालान्तरमा ‘भीमकुण्ड’ नाम दिइएको स्थानीयको भनाइ छ ।
कथा कति पुरानो हो भन्ने लिखित प्रमाण भने स्थानीयसँग छैन । तर पुस्तौँदेखि सुनिँदै आएको जनश्रुतिका रूपमा भीमकुण्डको कथा अहिले पनि जीवित छ । स्थानीयका लागि यो केवल पानीको मुहान मात्र नभएर आफ्नै भूगोलसँग जोडिएको एउटा सांस्कृतिक र पौराणिक सम्पदा हो । संस्कृती बिद कैलाश कुमार पाण्डेयमा अनुसार भिमकुण्डबारे पौराणिक वर्णन गरिएको भेटिएको छैन । तर पाण्डवहरु गुप्तबासको समय बिराटनर, नैनीताल जाँदा चुरे र महाभारत पर्वत भएर ओहोर दोहोर गरेको पौराणिक वर्णन छ । चुरेको फल्टुडे, महाभारतको पण्डोन, ठुलीगाड, गुप्तिगडा आदी पौराणिक वर्णन गरेको हुदा चुरे, महाभारतका पाण्डवहरु बनबासका क्रममा आहोर दोहोर भएको मान्न सकिने उनले बताए ।
नेपालका ग्रामीण तथा पहाडी भूभागमा प्राकृतिक स्थलसँग धार्मिक तथा पौराणिक कथा जोडिएका धेरै उदाहरण पाइन्छन् । उनले भने, कुनै गुफा, ढुङ्गा, कुण्ड, ताल वा पानीको मुहानको आकार तथा विशेषतालाई प्राचीन पात्र वा घटनासँग जोडेर व्याख्या गर्ने परम्परा पुरानो हो । भीमकुण्ड पनि त्यस्तै जनविश्वासमा आधारित स्थलका रूपमा देखिन्छ । यहाँको पानीको मुहानको बनोटले स्थानीयलाई महाभारतका शक्तिशाली पात्र भीमको स्मरण गराउँछ । त्यसैले प्राकृतिक संरचनालाई कथासँग जोड्दै यसको पहिचान पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ ।
उनका अनुसार मलास डडेल्धुराकै पुरानो वस्ति हो । तर अहिले पुरना वस्तिका स्थानीयहरु कमै छन । डोटेली मल्ल राज्यकालिन अवस्थामा मलासमा साउद रजबार थिए । लुल साउदको दरबारको अवषेश अहिले पनि देख्न सकिन्छ । अहिले त्यहा लुलानी भट्टहरु भए पनि साउदहरु पलायन भईसकेको उनले बताए । हाल यस क्षेत्रमा बझांगबाट बसाई सरी आएका बोहरा, धामीहरुको बस्र्वच्च छ ।
स्थानीय जनक धामीका अनुसार भीमकुण्डको पानी सधैँजसो रहने गर्दछ । वरपरको चुरे भूगोल, वनजङ्गल र प्राकृतिक वातावरणले यो क्षेत्रलाई थप आकर्षक बनाएको छ । प्राकृतिक सौन्दर्य र पौराणिक कथाको संयोजनले भीमकुण्डलाई सम्भावित पर्यटकीय गन्तव्यका रूपमा समेत प्रस्तुत गर्न सकिने उनीलगायत स्थानीयको धारणा छ ।
भीमकुण्डको कथा महाभारतकालीन घटनासँग जोडिए पनि यसलाई प्रमाणित गर्ने ऐतिहासिक वा पुरातात्विक दस्तावेज भेटिएको दाबी गर्न सकिँदैन । त्यसैले भीमकुण्डलाई महाभारतकालीन प्रमाणित स्थलभन्दा स्थानीय जनश्रुति र सांस्कृतिक विश्वासको स्थलका रूपमा बुझ्नु उपयुक्त हने संस्कृती बिद पाण्डेय बताउ छन । तर इतिहासको लिखित प्रमाण नभए पनि लोककथा र जनश्रुति आफैँमा समाजको सांस्कृतिक स्मृतिका महत्वपूर्ण अंश भएको उनको भनाई छ । एउटा पुस्ताले अर्काे पुस्तालाई सुनाउँदै आएको कथा स्थानीय पहिचानसँग जोडिँदै जाँदा त्यस्ता स्थलले सामाजिक तथा सांस्कृतिक महत्व प्राप्त गर्छन् ।
भीमकुण्डको कथा पनि यही मौखिक परम्पराको निरन्तरता हो । भीमले वास्तवमै यहाँ पानी पिएका थिए वा थिएनन् भन्ने प्रश्नको ऐतिहासिक उत्तर खोज्न कठिन भए पनि स्थानीयले यस स्थललाई भीमसँग जोडेर हेर्ने विश्वास भने अहिले पनि उत्तिकै बलियो देखिन्छ ।
पर्यटनको सम्भावना
परशुराम नगरपालिका क्षेत्र प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले सम्भावनायुक्त मानिन्छ । चुरे क्षेत्रका वन, नदी, झरना, धार्मिकस्थल र स्थानीय संस्कृतिसँगै भीमकुण्डजस्ता कम चर्चामा रहेका स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
भीमकुण्डसम्म पुग्ने बाटो, स्थलको संरक्षण, सूचना पाटी, पौराणिक कथाको अभिलेखीकरण तथा स्थानीयको सहभागितामा यसको प्रवर्धन गर्न सके नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ । अझ महाभारतसँग जोडिएको जनश्रुतिलाई प्रमाण र जनविश्वासबीचको भिन्नता स्पष्ट पार्दै प्रस्तुत गर्न सके यसले अनुसन्धान र पर्यटन दुवैलाई आकर्षित गर्न सक्छ ।
स्थलको संरक्षणसँगै यसको मौखिक इतिहासलाई अभिलेखमा राख्नु पनि उत्तिकै आवश्यक रहेको स्थानीयको भनाई छ । स्थानीय ज्येष्ठ नागरिकबाट भीमकुण्डसँग सम्बन्धित कथा, विश्वास र परम्परा सङ्कलन गरी लिखित तथा श्रव्यदृश्य अभिलेख तयार गर्न सके भावी पुस्ताका लागि महत्वपूर्ण सांस्कृतिक सामग्री बन्न सक्ने सम्भावना स्थानीयले देखेका छन ।
मलास क्षेत्रको विकाससंगै प्रचारका मलाससम्म सडक मार्गसंगै मलासमा एउटा स्मृती पार्क निर्माण गरिएको छ । चुरे पर्वत क्षेत्र भएकाले वर्षायाममा सडक अवरुद्ध हुदा सास्ति खेप्नु पर्ने स्थानीयको भनाई छ । चुरे पर्वतको शान्त वातावरणबीच रहेको भीमकुण्ड अहिले पनि स्थानीय जनविश्वासको कथा बोकेर बसेको छ । मुहानबाट निस्किएको पानीसँगै यहाँको कथा पनि पुस्तौँदेखि बगिरहेको छ ।















