रसुवा बाढीमा मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

Image

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले राति ११ः०५ बजेसम्म जारी गरेको बुलेटिनअनुसार बाढी प्रभावित सात जिल्लाबाट १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

बाढीपछि नेपाल प्रहरीका २८ जना कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

यसैगरी बाढीबाट प्रभावित ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररतमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।