काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार बाढी तथा विपद्का क्रममा विभिन्न जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको रहेको छ।
जिल्लागत रूपमा फेला परेका शवको विवरण यस्तो छः
- चितवन: १७८ जना
- नवलपरासी पूर्व: ११० जना
- गोरखा: ४४ जना (विभिन्न मानव अंगसहित)
- नुवाकोट: ३७ जना
- धादिङ: ३३ जना
- तनहुँ: २८ जना
- नवलपरासी पश्चिम: २७ जना
- रसुवा: १२ जना
विपद्मा परी हालसम्म ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा मात्रै ४३ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार उद्धार टोलीले हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरेको छ।
९७७ जना अझै सम्पर्कविहीन
बाढीपछि सम्पर्कमा नआएका ९७७ जनामध्ये विदेशी नागरिक, विदेशमा बस्ने नेपाली, सुरक्षाकर्मी, स्थानीय तथा सरकारी कर्मचारीसमेत रहेका छन्।
सम्पर्कविहीनमध्ये:
- विदेशी नागरिक: ५१७ जना
- विदेशमा बस्ने नेपाली: १२७ जना
- नेपाली सेना: ४५ जना
- नेपाल प्रहरी: २८ जना
- सशस्त्र प्रहरी बल: १३ जना
- रसुवाका स्थानीय: १६१ जना
- मकवानपुरका स्थानीय: ६६ जना
- भन्सार कार्यालयका कर्मचारी: १५ जना
- अध्यागमन कार्यालयका कर्मचारी: ४ जना
९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ। परिचालन गरिएका सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना रहेका छन्।
उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। सरकारले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राखेको जनाएको छ।















