गन्यापधुरा गाउँपालिकाले बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने

Image

डडेल्धुरा । रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गन्यापधुरा गाउँपालिकाले २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नेपाल सरकारद्वारा सञ्चालन भइरहेको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

वडा नं. २ का अध्यक्ष मनोज देउवाका  अनुसार उक्त रकम जनप्रतिनिधि, गाउँपालिकाअन्तर्गतका कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत स्थायी, करार र अन्य कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट कट्टा गरी संकलन गरिनेछ।

गत भदौ १० गते बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ। बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, बाढीका क्रममा गन्यापधुरा गाउँपालिका–२ का सम्पर्कविहीन सुरज महताको खोजी तथा उद्धारका लागि उहाँको परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ।

त्यस्तै, गन्यापधुरा गाउँपालिकाबाट बसाइँसराइ गरी कृष्णपुर नगरपालिका बस्ने हिक्मतबहादुर पाल र रमेशराज जोशीका परिवारलाई खोज तथा उद्धारका लागि जनही २५/२५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाले प्राकृतिक विपद्को कठिन परिस्थितिमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा जुट्न आम नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था, सरकार तथा सरोकारवालालाई आग्रह गरेको छ।