बाजुरा । कक्षाकोठाभित्र बसेर पढ्नुपर्ने बालबालिका अहिले विद्यालय परिसरबाहिर बसेर पढ्न बाध्य छन्। कारण हो—बाढीको त्रास। हिमाली गाउँपालिका–२ नातिखोलास्थित बुढीनन्दा आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी कक्षाकोठाभित्र पस्न डराउँछन्। लगातारको वर्षासँगै खोलामा बाढी आउने जोखिम बढेपछि उनीहरूले बाहिरै बसेर पठनपाठन गर्दै आएका छन्।
साउन २८ गते बिछ्याखोलामा आएको बाढीले गाउँबस्ती, सडक, बाटो, पुल तथा विद्यालयसहितका भौतिक संरचनामा क्षति पुर्याएको थियो। वर्षा अझै रोकिएको छैन। त्यसैले कक्षाकोठामा पढिरहेका बेला बाढी आएर भाग्न नसकिने डर विद्यार्थी र शिक्षकमा छ।
विद्यालय खोलाको किनारमै छ। २०७७ सालको भूकम्पले समेत विद्यालय आसपासको जमिन चिराचिरा परेको छ। विद्यालयका प्रधानाध्यापक अजमति विष्टका अनुसार भोटेकोशीमा आएको बाढीपछि यहाँका विद्यार्थी र कर्मचारी झनै त्रसित भएका छन्।
“हाम्रो विद्यालय पनि खोलाको नजिक छ। बाढी आएर विद्यालय बगाउँछ कि भन्ने त्रास सधैँ हुन्छ,” उहाँले भन्नुभयो, “बालबालिकालाई जोखिम पर्दा तत्काल भाग्न सहज होस् भनेर बाहिरै राखेर पढाउने गरेका छौँ।”
कक्षा १ देखि ३ सम्म पढाइ हुने विद्यालयमा अहिले २८ जना बालबालिका अध्ययनरत छन्। विद्यालयमा एक स्थायी, एक राहत, एक बालविकास शिक्षक र एक कार्यालय सहयोगीसहित चार जना कर्मचारी छन्।
विद्यालय नै जोखिममा
हिमाली गाउँपालिकाको शिक्षा शाखाले पनि विद्यालयको अवस्था जोखिमपूर्ण रहेको स्वीकार गरेको छ। शिक्षा शाखा संयोजक पराम पाण्डेका अनुसार विद्यालयलाई सुरक्षित स्थानमा सार्नु आवश्यक छ। तर त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले तत्कालै स्थानान्तरण गर्न चुनौती छ।
“विद्यालयको अवस्था नाजुक छ। यसलाई सुरक्षित स्थानमा सार्न जरुरी छ,” पाण्डेले भन्नुभयो, “तर त्यसका लागि ठूलो रकम आवश्यक पर्छ।” हिमाली गाउँपालिकामा करिब २२ वटा विद्यालय सञ्चालनमा छन्। शिक्षा शाखाका अनुसार अधिकांश विद्यालयको अवस्था पनि जोखिमपूर्ण छ।














