१,४८२ शेयर सदस्य रहेको सहकारीको कुल पुँजी १२ करोड, भवन निर्माणका लागि जग्गा दातालाई सम्मान
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौँमा रहेको श्री नीरपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै आफ्नो २९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
साधारणसभाले लोकबहादुर खत्रीको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।
२०५४ सालमा विधिवत् दर्ता भई २० रुपैयाँबाट बचत संकलन सुरु गरेको सहकारीमा हाल गन्यापधुरा गाउँपालिका–४ र ५ तथा साविक कैलपालमाण्डौँ क्षेत्रका गरी १ हजार ४ सय ८२ जना शेयर सदस्य रहेका छन्। सहकारीको कुल पुँजी करिब १२ करोड रुपैयाँ रहेको कोषाध्यक्ष तथा नवनिर्वाचित अध्यक्ष लोकबहादुर खत्रीले प्रस्तुत गरेको आय–व्यय विवरणमा उल्लेख छ।
सहकारीले स्थानीय सर्वसाधारणको घरायसी आवश्यकता तथा विभिन्न आर्थिक समस्या समाधानका लागि सहज रूपमा कर्जा उपलब्ध गराउँदै आएको अध्यक्ष सदानन्द पनेरुले बताए। सदस्यलाई आवश्यक परेको समयमा कर्जा लिन र आफ्नो अनुकूलताअनुसार भुक्तानी गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए।
सहकारीले शेयर सदस्यको मृत्यु भएमा तथा सुत्केरी हुँदा एक हजार रुपैयाँ सहयोग गर्दै आएको लेखा सदस्य लक्ष्मी पनेरुले बताइन्।
साधारणसभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि विभिन्न कार्ययोजना तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका जनप्रतिनिधि, वडा नम्बर ४ र ५ का शेयर सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो।
यसैबीच, सहकारीको भवन निर्माणका लागि जग्गा दान गर्ने ठगी खत्री र अम्बिका पनेरूलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको छ।
साधारणसभाले सहकारीको आगामी चार वर्षको कार्यदिशा तय गर्दै नवनिर्वाचित सञ्चालक समितिलाई संस्थाको जिम्मेवारी हस्तान्तरण गरेको छ।















