नयाँ तालिका एक नजरमा
- असोज १४ — बैतडी/दार्चुला : हरिनगर रंगशाला, दिलासैनी–५, बैतडी
- असोज १५ — बझाङ : क्रिकेट एकेडेमी, सिमखेत
- असोज १६ — डडेल्धुरा : एरोडा चौराहा खेलमैदान, कोटेली
- असोज १७ — अछाम/बाजुरा : साँफेबगर क्रिकेट एकेडेमी
- असोज १९ — कैलाली/कञ्चनपुर : धनगढी क्रिकेट एकेडेमी, बोराडाडी
- असोज २०–२१ — अन्तिम चरण : धनगढी क्रिकेट एकेडेमी
धनगढी । प्रतिकूल मौसमको सम्भावनाका कारण सुदूरपश्चिम रोयल्सले आयोजना गर्न लागेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम स्थगित भएको छ । यसअघि तय गरिएको तालिका परिवर्तन गर्दै रोयल्सले नयाँ मिति सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम रोयल्सले सोमबार सूचना जारी गर्दै मौसम विभागको पूर्वानुमानमा प्रतिकूल मौसमको सम्भावना देखिएकाले खेलाडी तथा प्रतिभाको सुरक्षालाई मध्यनजर गर्दै यसअघि निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
नयाँ तालिकाअनुसार ‘ट्यालेन्ट हन्ट’ असोज १४ गतेदेखि सुरु हुनेछ । पहिलो दिन बैतडी र दार्चुलाका खेलाडीलाई लक्षित गरी बैतडीको दिलासैनी गाउँपालिका–५ स्थित हरिनगर रंगशालामा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
त्यसैगरी असोज १५ गते बझाङ क्रिकेट सङ्घको क्रिकेट एकेडेमी, जयपृथ्वी नगरपालिका–९ सिमखेत, असोज १६ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित एरोडा चौराहा खेलमैदानमा ट्यालेन्ट हन्ट सञ्चालन हुनेछ ।
असोज १७ गते अछाम र बाजुराका खेलाडीका लागि साँफेबगर–३ स्थित साँफेबगर क्रिकेट एकेडेमीमा कार्यक्रम हुनेछ । त्यस्तै असोज १९ गते कैलाली र कञ्चनपुरका खेलाडीका लागि धनगढी–३ बोराडाडीस्थित धनगढी क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्ट आयोजना गरिने रोयल्सले जनाएको छ ।
विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभाका लागि असोज २० र २१ गते धनगढी क्रिकेट एकेडेमीमै अन्तिम चरणको छनोट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । रोयल्सका अनुसार ट्यालेन्ट हन्टका सबै कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछन् ।
यसअघि निर्धारित मितिमा कार्यक्रम सञ्चालन हुन नसक्दा खेलाडी तथा क्रिकेट प्रतिभामा पर्न गएको असुविधाप्रति सुदूरपश्चिम रोयल्सले क्षमायाचना गरेको छ । साथै, कार्यक्रमप्रति निरन्तर साथ, सहयोग र माया प्रदान गरेकोमा खेलाडी, समर्थक तथा शुभेच्छुकलाई धन्यवाद दिएको छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा लुकेर रहेका क्रिकेट प्रतिभाको पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले रोयल्सले ‘ट्यालेन्ट हन्ट’ आयोजना गर्न लागेको हो । इच्छुक खेलाडीले क्यूआर स्क्यान गरी अनलाइन फाराम भरेर सहभागिता जनाउन सक्ने जनाइएको छ ।













