धौलीगङ्गाको बाँध ३४ घण्टा खुल्ने, महाकाली तटीय क्षेत्रमा सतर्कता

Image

दार्चुला । भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध ३४ घण्टाका लागि खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको २८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बाँधका ढोका खोल्न लागिएको हो ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन तपोवन भारतबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार असोज ११ गते आइतबार राति १२ बजेदेखि असोज १२ गते सोमबार बिहान १० बजेसम्म धौलीगङ्गा बाँधका ढोका खोलिनेछ । बाँध खोल्ने सम्बन्धमा भारतीय पक्षले नेपाली प्रशासनलाई पत्राचारमार्फत जानकारी गराएको उनले बताए ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीको जल सतह बढ्न सक्ने भएकाले नदी किनारमा नजान स्थानीय प्रशासनले आग्रह गरेको छ । विशेषगरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मको महाकाली नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन सूचित गरिएको छ ।

धौलीगङ्गा परियोजनाले वर्षायाम तथा आवश्यक समयमा जलाशयमा जम्मा भएको सिल्ट सफाइ गर्न बाँधका ढोका खोल्ने गरेको छ । भारतीय पक्षले बाँध खोल्नुअघि नेपाली प्रशासनलाई जानकारी गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए ।

धौलीगङ्गाबाट छोडिएको पानीको प्रभाव महाकाली नदीमा पर्ने भएकाले दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने नदी क्षेत्रमा समेत जल सतह बढ्न सक्ने सम्भावना रहन्छ । त्यसैले नदी किनार, खोला तथा तटीय क्षेत्रमा आवतजावत नगर्न प्रशासनले अनुरोध गरेको छ ।

स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सूचना आदानप्रदानमा ध्यान दिन तथा नदीको अवस्था असामान्य देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।