काठमाडौँ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशबाट बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानदेखि सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले मनसुन बहिर्गमनको प्रक्रिया सुरु भइसकेको छ । मनसुन क्रमशः कमजोर हुँदै गएसँगै देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिने अवस्था बनेको हो ।
विभागले मनसुन बहिर्गमनको अवस्था र त्यसपछि नेपालमा पर्न सक्ने पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको जनाएको छ ।
मनसुन बाहिरिएसँगै नेपालमा क्रमशः मौसम परिवर्तन हुँदै जाने र पश्चिमी वायुको प्रभाव बढ्न सक्ने भएकाले मौसमसम्बन्धी पूर्वानुमान तथा विभागका सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।















