दसैँको टीका कति बजे लगाउने ? विजयादशमीको उत्तम साइत बिहान १०ः२६ बजे

Image
PRASIT-O-GRAPHS

काठमाडौँ । यस वर्षको बडादसैँअन्तर्गत विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न उक्त समय उत्तम रहेको जनाएको हो ।

समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि बिहान १०ः२६ बजेको शुभ साइतमा टीका लगाउन सकिनेछ । टीका लगाउँदा टीका ग्रहण गर्ने व्यक्ति पश्चिम मोहडा फर्केर बस्नुपर्ने समितिले जनाएको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको हो ।

राज्य सञ्चालकले भने समितिले निर्धारण गरेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उनले बताए । नेपालका अधिकांश क्षेत्रमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । केही स्थानमा भने विजयादशमीकै दिन मात्र टीका लगाउने चलन रहेको छ ।

असोज २५ गते घटस्थापना

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्र सुरु हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । समितिका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे रहेको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत पर्ने भएकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिले जनाएको छ ।

त्यसैगरी असोज २६ गते बिहान १०ः०७ बजे झण्डा फेर्ने उत्तम साइत रहेको छ । झण्डा फेर्दा पनि पश्चिम मोहडा गरेर फेर्नुपर्ने समितिले जनाएको छ ।

फूलपातीदेखि महानवमीसम्मका मुख्य दिन

असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । सोही दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको समितिले जनाएको छ ।

कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । सोही दिन राति कालरात्रि पर्व मनाइनेछ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको छ भने कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाइनेछ ।

कात्तिक ४ गते विजयादशमी

कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ । बडादसैँको मुख्य दिनका रूपमा मनाइने यस दिन बिहान ८ः४९ बजे देवी विसर्जन गर्ने साइत छ ।

त्यसपछि बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ । यसै दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ः५२ बजे रहेको छ । खड्गयात्रा पनि यही दिन हुनेछ ।

कात्तिक ८ गते दसैँ पर्व समापन

कात्तिक ८ गते आइतबार कोजाग्रत व्रत तथा पूर्णिमा व्रत परेको छ । सोही दिन सबै बलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ । बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरेपछि १५ दिन लामो दुर्गापक्ष अर्थात् दसैँ पर्व औपचारिक रूपमा समापन हुनेछ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको छ ।

नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने दसैँमा मान्यजनको आशीर्वाद लिन टाढाटाढाबाट घर फर्किने परम्परा छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा–आराधना गरिन्छ भने विजयादशमीमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।

दसैँ नजिकिएसँगै बजारमा समेत चहलपहल बढ्न थालेको छ । पर्वका लागि नयाँ कपडा, खाद्य सामग्री तथा अन्य आवश्यक सामान खरिद गर्नेको भीड बढ्दै गएको छ । सरकारले दसैँका बेला उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसलसमेत सञ्चालन गर्दै आएको छ ।

दसैँमा बालबालिकाका लागि पिङ खेल्ने, चङ्गा उडाउनेलगायतका गतिविधि प्रमुख आकर्षण बन्ने गरेका छन् । प्रौढ तथा ज्येष्ठ नागरिक भने धार्मिक विधि, पूजा–आराधना र मान्यजनबाट आशीर्वाद ग्रहण गरेर पर्व मनाउने गर्छन् ।

दसैँका अवसरमा देशभरका शक्तिपीठमा समेत भक्तजनको विशेष भीड लाग्ने गर्दछ । विभिन्न शक्तिपीठमा परम्पराअनुसार बलिसहित पूजा तथा आराधना गर्ने भक्तजनको उपस्थिति बाक्लो हुने गर्दछ ।

– रासस