काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । यस अवसरमा देशभरका दसैँघर, पूजा कोठा तथा शक्तिपीठमा चन्द्रघण्टा देवीको विशेष पूजा आराधना भइरहेको छ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गर्ने भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक तथा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । नवरात्रका अवसरमा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । उनले अत्याचारी दानवी शक्तिको नाश गर्ने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रमा ध्यान गर्ने धार्मिक परम्परा छ । उनको स्वरूपको ध्यान र आराधना गर्दा विभिन्न शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीको कृपाले समग्र पाप नाश हुने विषय विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । उनका अनुसार चन्द्रघण्टा देवीको स्वरूप शान्त, सामान्य र करुणामयी मानिन्छ । विशेषगरी गीतसङ्गीत क्षेत्रमा लागेका व्यक्तिले चन्द्रघण्टा देवीको आराधना गर्ने धार्मिक मान्यता रहेको उनले बताए ।
आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधना तथा ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको भट्टराईले जानकारी दिए ।
नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान र साधनामा आफूलाई स्थापित गर्नु रहेको श्रीमद्देवीभागवतलगायत पुराणमा उल्लेख छ । यही शास्त्रीय मान्यताका आधारमा भक्तजनले नवरात्रका नौ दिन घर तथा शक्तिपीठमा देवीको साधना र आराधना गर्ने गर्छन् ।
घटस्थापनाका दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठापूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । यस अवधिमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यी नौवटा स्वरूपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका प्रमुख शक्तिपीठमा दर्शनार्थीको चहलपहल बढेको छ । नवरात्रका नौ दिनमा कम्तीमा नौवटा शक्तिपीठमा पुगेर पूजा आराधना तथा दर्शन गर्नुपर्ने धार्मिक मान्यताअनुसार कतिपय भक्तजन विभिन्न मन्दिर पुग्ने गरेका छन् ।















