डडेल्धुरा । डडेल्धुराको दुर्गम ग्रामीण क्षेत्र अजयमेरु गाउँपालिका–६ राजुलमा बृहत् सांस्कृतिक तथा खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
अजयमेरु गाउँपालिका वडा नं. ६ को आयोजना तथा डडेल्धुरा जेसिजको सह–आयोजनामा बिहिबार अर्थात कात्तिक १९ गतेदेखी सञ्चालन हुन लागेको प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकाससँगै कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
जिल्लाको दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने राजुल विकासका दृष्टिले अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेको क्षेत्र हो । अजयमेरु गाउँपालिका–६ को भूगोल बैतडीको तल्लो स्वराड क्षेत्र, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकासँग सीमा जोडिँदै सुर्नया खोलासम्म फैलिएको छ । भौगोलिक विकटता र पूर्वाधारको सीमितताका बाबजुद यस क्षेत्रमा खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सहभागी गराउनुका साथै प्रतिभा पहिचान र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्दै युवालाई सकारात्मक र सिर्जनात्मक कार्यमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष हरी भण्डारीले बताए ।
प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने भएकाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आयोजक अजयमेरु गाउँपालिका वडा नं. ६ का अध्यक्ष भण्डारीले प्रतियोगितामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई हार्दिक निमन्त्रणा गरेका छन् ।
दुर्गम ग्रामीण क्षेत्रमा खेलकुद र सांस्कृतिक गतिविधिलाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई स्थानीय स्तरमा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।











