राजुलको पहिचानसँग जोडियो खेलकुद उत्सव, आयोजक ‘ए’ ले जित्यो १ लाख ५५ हजारको उपाधि

Image

डडेल्धुरा । डडेल्धुराको दुर्गम ग्रामीण क्षेत्र अजयमेरु गाउँपालिका–६ राजुलमा आयोजित उच्च पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । फाइनलमा नेपाली सेनाको अर्जुनवाण गण दहव्यारेक डडेल्धुरालाई पराजित गर्दै आयोजक अजयमेरु गाउँपालिका–६ ‘ए’ ले उपाधि उचालेको हो ।

उपाधिसँगै आयोजक टिमले १ लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फाइनलमा पराजित नेपाली सेनाको अर्जुनवाण गणले ७७ हजार ७७७ रुपैयाँसहित दोस्रो स्थान हासिल गर्दा एलिशा हार्डवेयर मल्टी सप्लायर्सको टिम ४४ हजार ४४४ रुपैयाँ पुरस्कारसहित तेस्रो भएको छ ।

बिहीबारदेखि सुरु भएको तीनदिने सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको अन्तिम दिन शनिबार भएको फाइनल खेलमा आयोजक टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

बेस्ट अफ फाइभ प्रणालीमा खेलाइएको फाइनलमा आयोजक ‘ए’ टिमले सुरुवाती दुई सेट लगातार जितेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै अर्जुनवाण गणले खेललाई प्रतिस्पर्धात्मक बनाए पनि चौथो सेटमा आयोजक टिमले जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो ।

दुर्गम राजुलमा उच्च पुरस्कारको प्रतिस्पर्धा

अजयमेरु गाउँपालिका–६ को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख ५५ हजार ५५५, ७७ हजार ७७७ र ४४ हजार ४४४ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन जेसिज डडेल्धुरा वर्ष २०२६ ले गरेको थियो ।

डडेल्धुराको अन्तिम वडाका रूपमा रहेको राजुल भौगोलिक तथा विकासका दृष्टिले जिल्लाकै दुर्गम क्षेत्रमध्ये एक हो । बैतडीको तल्लो स्वराड क्षेत्रअन्तर्गत मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न वडासँग सीमा जोडिएको यो क्षेत्र सुर्नाया खोलासम्म फैलिएको छ ।

केही वर्षअघिसम्म सडक सञ्जालको सहज पहुँचसमेत नभएको राजुलमा पछिल्लो समय सडकको ट्र्याक खुलेसँगै आवागमनमा सहजता थपिएको छ । भौगोलिक विकटता, पूर्वाधारको सीमितता र विकासका चुनौतीबीच पनि स्थानीयस्तरमा खेलकुद तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनु यस क्षेत्रका लागि महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

तीन वर्षदेखि खेलकुद र संस्कृतिको उत्सव

राजुलमा वडा कार्यालयले तीन वर्षदेखि निरन्तर सांस्कृतिक कार्यक्रमसहित खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । स्थानीय प्रतिभाको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र दुर्गम क्षेत्रको पहिचान स्थापित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको वडा अध्यक्ष हरि भण्डारीले बताएका छन् ।

यस वर्षको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले गरेका थिए ।

‘भाषा, साहित्य खेलकुद र संस्कृती, हातेमालो गरि हटाऔं सामाजिक विकृती’ भन्ने नारासहित आयोजना गरिएको उत्सवले खेलकुदसँगै स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई जोड दिएको छ ।

वडा अध्यक्ष भण्डारीका अनुसार दुर्गम राजुलको आवाज बुलन्द गर्नु, यहाँभित्र रहेका खेलकुद प्रतिभा उजागर गर्नु र स्थानीय कला तथा संस्कृतिलाई चिनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनुका साथै विभिन्न क्षेत्रका खेलाडी तथा समुदायबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विकासका पूर्वाधार र अवसरका हिसाबले अझै चुनौती सामना गरिरहेको राजुलमा पाँच वर्षदेखि निरन्तर भइरहेको खेलकुद तथा सांस्कृतिक उत्सवले स्थानीय पहिचान स्थापित गर्ने प्रयास गरेको छ । उच्च पुरस्कार राशिको भलिबल प्रतियोगितामा आयोजक टिमले नै उपाधि जितेसँगै यस वर्षको उत्सवसमेत उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।